पाल्पा — निस्दी गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय निस्दी–५, कठैडाँडाले हात पारेको छ ।
निस्दी गाउँपालिका–४, मित्यालको झ्याल्टुंगमा संचालित प्रतियोगितामा ८ स्वर्ण, ४ रजत र १ कांस्य गरी १३ पदकसहित सरस्वतीले उपाधि जितेको हो । ६ स्वर्ण, ४ रजत र ३ कांस्य गरी १३ पदकसहित जनता माध्यमिक विद्यालय निस्दी–५, ढुंगानाबेंसी दोस्रो भएको छ । २ स्वर्ण, १ रजत र ४ कांस्य गरी ७ पदकसहित बालहित माध्यमिक विद्यालय निस्दी–२, सहलकोट तेस्रो भएको छ ।
छात्र ९ र छात्रा ९ गरी १८ विधा समावेश प्रतियोगितामा निस्दी गाउँपालिकाभित्रका १२ माध्यमिक विद्यालयहरुको सहभागिता रहेको बालमैत्री फोकल पर्सन कुस्माखर पाण्डेयले बताए । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठ, निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, उपाध्यक्ष तिरनकुमारी श्रेष्ठ प्रवक्ता मेखबहादुर सुनारीलगायतले वितरण गरे ।
लुम्बिनी प्रदेशसभा सदस्य श्रेष्ठले खेलकुदले अनुशासित हुन र सामूहिक कार्य गर्न सिकाउने बताए । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले विद्यार्थीहरुले खेलकुदका साथसाथै शैक्षिक प्रगतिमा समेत ध्यान दिनुपर्ने बताए ।
