काठमाडौँ — नेपालले त्रिकोणात्मक महिला ट्वान्टी/२० क्रिकेट शृंखलामा शनिबार थाइल्यान्डलाई १ सय २ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १ रन बनाएको हो ।
ओपनर सम्झना खड्का दोस्रो बलमै एलबीडब्लु आउट भइन् । शृंखलामा पहिलो खेल खेल्ने मौका पाएकी अर्की ओपनर ममता चौधरी पनि २ रनमै आउट भएपछि नेपाल सुरुआतदेखि नै दबाबमा परेको थियो । आक्रामक खेलेकी इन्दु बर्मा १७ बल खेली २ चौका प्रहार गर्दै १५ रनमा बोल्ड भइन् ।
पूजा महतो ८ बलमा ६ रन बनाइ आउट भइन् । पूर्वकप्तान रुविना क्षेत्री ४ रनमा रनआउट भइन् । कविता कुँवर र विन्दु रावलले समान २५ रन बनाए । कविताले ३२ बल खेली २ चौका र विन्दुले २५ बल खेली ३ चौका प्रहार गरिन् ।
एक छक्का प्रहार गरेकी कविता जोशी ९ बलमा ८ र सीता रानामगर २ रनमा आउट भइन् । एलिसाकुमारी यादव २ र मनीषा उपाध्याय १ रन बनाई अविजित रहे । थाइल्यान्डबाट थिपात्चा पुथावोङले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ३, फनिता माया र नताया बुचाथामले २–२ विकेट लिए ।
नेपालले मध्यमगतिका बलर ईश्वरी विष्टको स्थानमा शीर्ष पंक्तिका ब्याटर ममतालाई खेलाएको थियो । नेपालले अघिल्लो खेलमा एलिसा र मनीषालाई ‘डेब्यु’ गराएको थियो । तर धनगढीमा अघिल्लो साता सम्पन्न प्रधानमन्त्री कपमा सर्वाधिक १० विकेट लिएकी मनीषाले नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्न पाएकी थिइनन् ।
नेपाल बिहीबार पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । नेदरल्यान्ड्सलाई शुक्रबार थाइल्यान्डले ८ विकेटले पराजित गरेको थियो । नेपालले २०११ यता थाइल्यान्डलाई पराजित गर्न सकेको छैन ।
सन् २०१९ मा नेपालले ट्वान्टी/२० अन्तर्राष्ट्रिय मान्यता पाएयता थाइल्यान्डविरुद्ध खेलेका सबै तीन खेलमा पराजित हुँदै आएको छ । ट्वान्टी/२० विश्वकप खेलिसकेको थाइल्यान्ड त्यसपछि पहिलोपटक नेपाल आएर खेलिरहेको छ ।
