बुढासुब्बा गोल्डकपमा चर्च ब्वाइजको विजयी सुरुवात 

माघ १९, २०८१

अर्जुन सुवेदी

Church Boys get off to a winning start in the Budhasubba Gold Cup

सुनसरी — ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले २५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको  छ ।

धरान रंगशालामा शनिबार भएको उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्‍याउन सन्तोष खत्रीले निर्णायक गोल गरे । उनले दोस्रो हाफको दोस्रो मिनेटमा गोल गरेका थिए । उनी म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पारे । आइतबारको खेल आयोजक धरान फुटबल क्लब र युकेएफसी भारतबीच हुनेछ । आयोजक धरान फुटबल क्लबले रजत महोत्सवको रुपमा आयोजना गरेको गोल्डकपमा भारत र भुटानका दुई सहित ८ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ, सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ र विधागत उत्कृष्टले जनही २५/२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 

अर्जुन

Link copied successfully