सुनसरी — हिसान एन्फा सुनसरी कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि पूर्वाञ्चल कलेजले जितेको छ । पूर्वाञ्चलले इटहरी तालतलैयास्थित बूढासुब्बा खेल मैदानमा शुक्रबार सम्पन्न फाइनलमा सुष्मा कलेजमाथि १–० गोलको जित निकाल्यो ।
सिजल राईले दोस्रो हाफको ५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उपाधिसँगै पूर्वाञ्चलले नगद ३० हजार हात पारेको छ । उपविजेता बनेको सुष्मा कलेजले १५ हजार रुपैयाँ पाएको छ । प्लेयर अफ द फाइनल बनेका पूर्वाञ्चलका कैलाश भुजेलले नगद १ हजार रुपैयाँ पाए ।
सर्वोत्कृष्ट खेलाडी तथा उच्च गोलकर्ता सिजल राई नै भए । उनले सर्वोत्कृष्ट भएबापत नगद ५ हजार र उच्च गोलकर्ताको ३ हजारसहित ८ हजार पुरस्कार पाए । पूर्वाञ्चलकै सुमित राई उत्कृष्ट गोलरक्षक, सक्षम प्रधान उत्कृष्ट मिडफिल्डर र सजिवन राई उत्कृष्ट प्रशिक्षक घोषित भए । सुष्मा कलेजका देवराज श्रेष्ठ उत्कृष्ट फरवार्ड र युसन राई उत्कृष्ट रक्षक घोषित भए । उनीहरूले जनही नगद २–२ हजार रुपैयाँ पाए ।
विजयी खेलाडीलाई हिसान केन्द्रीय सल्लाहकार लेखनाथ घिमिरे, सुनसरी अध्यक्ष सागर भट्टराई, सचिव सुभाष लुइँटेल, एन्फा सुनसरी वरिष्ठ उपाध्यक्ष भेषराज कार्की, महासचिव कोविदजंग कार्की, सदस्य प्रकाश कोइरालालगायतले पुरस्कार वितरण गरे । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरी र उच्च माध्यमिक शिक्षालय संघ हिसान सुनसरीको संयुक्त आयोजनामा माघ १२ गतेदेखि भएको प्रतियोगितामा सुनसरीका २३ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।
