काठमाडौँ — नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा थाइल्यान्डलाई १ सय २३ रनको लक्ष्य दिएको छ । टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेको नेदररल्यान्ड्सले शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ६ विकेट गुमाई १ सय २२ रन बनाएको हो ।
कप्तान बाबेट डी लिडेले सर्वाधिक ५२ रन बनाए । उनले ५० बल खेली ८ चौका प्रहार गरिन् । आइरिस विलिङले ३५ बल खेली २ चौकासहित २८ रन बनाइन् । फेबे मोल्केनबोइर २, स्टेर कालिस ४, रोबिन रिज्के ७, कार्लिज्न भान कुल्विज्क ८ रनमा आउट भए ।
थाइल्यान्डबाट थिप्तचा पुथावोङले ४ ओभरमा २७ रन खर्चेर २ र ओनिचा कामचोम्फुले १ विकेट लिए । नेदरल्यानड्सले अघिल्लो खेलमा नेपाललाई २० रनले पराजित गरेको थियो । थाइल्यान्डको प्रतियोगितामा पहिलो खेल हो ।
५ पटक ट्वान्टी-२० विश्वकप खेलिसकेको थाइल्यान्ड पहिलो पटक नेपाल आएर खेलेको हो । तीन राष्ट्रसम्मिलित प्रतियोगितामा थाइल्यान्ड माथिल्लो वरीयताको टोली हो । थाइल्यान्ड विश्व वरियतामा १३ औं र नेदरल्यान्ड्स १६ औं स्थानमा छ ।
विश्व वरीयतामा नेपाल २० औं स्थानमा छ । सहभागि टोलीले एक अर्कासँग तीन पटक खेल्ने छ र सर्वाधिक अंक ल्याउने टोली विजेता बन्ने छ ।
