भाग्यमानी संकटा च्याम्पियन

पेनाल्टी सुटआउटमा २ गोलले पछाडि परेको स्थितिलाई संकटाले पल्टाएको थियो

माघ १८, २०८१

हिमेश

Lucky Sankata Champion

काठमाडौँ — संकटा निश्चित हारको संघारमा थियो । पेनाल्टी सुटआउटका सुरुआती दुवै प्रहार गोल हुन्न भने त्यस स्थितिबाट खेलमा फर्किन गाह्रै हुन्छ । तर भाग्यले कहिलेकाहीँ त्यस्तै टिमलाई साथ दिन्छ, संकटाले त्यस्तै नमुना पेस गरेको छ । संकटाले सडन डेथमा बागमती लोकतान्त्रिकलाई पराजित गरेर बिहीबार सभापति कपको उपाधि जितेको छ । 

गोलरहित ९० मिनेटको बराबरीपछि खेल सिधै पेनाल्टी सुटआउटमा गएको थियो र त्यसमा संकटाले अविश्वसनीय र नाटकीय पुनरागमन रच्यो । ‘हाम्रा सुरुका दुवै पेनाल्टी गोल नभएपछि ठूलै दबाबमा परेका थियौं,’ संकटाका गोलरक्षक तथा कप्तान दीप कार्कीले भने, ‘तर मलाई खेल आफ्नो पक्षमा पल्टाउने आत्मविश्वास भने थियो । यो खुसीको अवसर हो ।’ 

संकटाको यो जितका नायक उनी नै रहे । तर सुरुमा चम्कने उनका समकक्षी कप्तान तथा गोलरक्षक थिए, विकेश कुथु । उनले राम थापा र रोशन पहारीको प्रहारलाई सुरुमै रोके । बागमतीका लागि भने नवीन लामा र फोडे फोफानाले गोल गरे । यो २–० को स्थितिबाट खेल जित्नुपर्ने बागमतीले नै थियो । तर खेलको पटकथा त्यसरी लेखिएकै थिएन । 

संकटाका लागि लगत्तै लक्षु थापाले गोल गरे । तर कुलदीप कार्कीको प्रहारलाई दीपले रोके । साम कार्लोसले संकटाका लागि गोल गरेपछि २–२ को बराबरीमा पुगेको थियो । रजत तिवारीले बागमतीका लागि गरेको चौथो पेनाल्टी प्रहार नराम्रोसँग बाहिरियो । यस्तोमा दीप आफैं पेनाल्टी प्रहारका लागि ओर्ले र गोल पनि गरे, नतिजा संकटा पहिलो पटक अगाडि रह्यो, ३–२ ले ।

बागमतीका लागि सेने एलेक्सको प्रहार गोलमा परिणत गरेपछि संकटका लागि सुनील खड्काले गोल गरे र टिम फेरि अगाडि नै रह्यो । गौरव श्रेष्ठको अन्तिम प्रहार दीपले जोगाएपछि संकटाको जितको औपचारिकता पूरा भएको थियो । यही प्रदर्शनका लागि दीप प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि चयन भए । सान्त्वना पुरस्कार भने विकेशको नाममा रह्यो । उनी रहे, प्रतियोगिताका उत्कृष्ट गोलरक्षक । यो एक प्रकारले स्वाभाविक पनि थियो किनभने दुवै टिम सेमिफाइनलमा पेनाल्टी सुटआउटमा जित्दै फाइनल पुगेका थिए ।

‘हामीले सुरुदेखि आक्रामक भएर खेल्ने रणनीति बनाएका थियौं । दोस्रो हाफमा पनि त्यसलाई कायम राख्यौं । तर हाम्रो विङ्गर चलेन,’ संकटाका प्रशिक्षक रवीन्द्र शिलाकारले भने । उनी के मान्छन् भने संकटा उपाधिका लागि पूर्णतः हकदार भने थियो किनभने प्रतियोगितामा संकटाले राम्रो खेलेको थियो । फाइनलमै पनि खेलमाथिको पकड संकटाकै पक्षमा रहेको थियो । 

संकटा गोलका केही निश्चित अवसरमा चुकेको थियो ।

‘हामीले पछिल्लो केही समय लगातार फुटबल खेलिरहेका छौं । चाहे त्यो यू–१६ र यू–१८ होस् अथवा महिला लिग नै । हाम्रो पुरुष टिमले पनि लगातार खेलिरहेकै छ । हामी चुप रहेनौं । त्यसकै पुरस्कारका रूपमा हामी आज च्याम्पियन भएको हुनुपर्छ,’ प्रशिक्षक शिलाकारले थपे । बागमतीका प्रशिक्षक प्रकाश वैद्यले आफ्नो टिमलाई भाग्यले साथ नदिएको बताए । उनको भनाइ थियो, ‘टाइब्रेकरमा भाग्य जसको पक्षमा पनि हुन सक्छ । अन्यथा समग्रमा प्रतियोगितामा हाम्रो प्रदर्शन राम्रै रह्यो ।’ 

हिमेश

Link copied successfully