जनकपुर अपराजित कबड्डी लिग च्याम्पियन

माघ १८, २०८१

कान्तिपुर संवाददाता

Janakpur undefeated kabaddi league champions

काठमाडौँ — जनकपुर नाइट्स अपराजित यात्राका साथ नेपाल कबड्डी लिग च्याम्पियन बनेको छ । जनकपुरले राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार पहिलो संस्करणको फाइनल खेलमा काठमान्डु माभरिक्सलाई ४५–४१ ले पराजित गर्‍यो । 

जनकपुरले उपाधिसँगै पाँच लाख र काठमान्डुले भने दुई लाख पायो । जनकपुरले पहिलो क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । काठमान्डुले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै पन्छाएको थियो । 

लिग चरणमा यी दुई टोलीले ३९–३९ अंकको बराबरी खेलेका थिए । त्यत्ति नै प्रतिस्पर्धात्मक रहेको फाइनलमा जनकपुरका अगाडि नतिजाको हिसाबले काठमान्डुको केही लागेन । 

पहिलो हाफमै जनकपुरले ६ अंकको अग्रता लिएको थियो । रेइडबाट जनकपुरले आठ, ट्याकल ६, दुई अलआउटबाट ४ तथा बोनस र अतिरिक्तबाट सात अंक जोडेको थियो । काठमान्डुले भने रेइडबाट २, ट्याकलबाट ६ तथा बोनस र अतिरिक्तबाट ११ जोडेको थियो । पहिलो हाफ २५–१९ मा सकिएको थियो । 

दोस्रो हाफमा कप्तान घनश्याम रोक्कामगरले उत्कृष्ट प्रदर्शन गर्दै काठमान्डुलाई खेलमा फर्काए पनि अन्तिममा सम्हालिन नसक्दा काठमान्डु उपाधिबाट विमुख हुन पुग्यो । काठमान्डुले रेइडबाट ७, ट्याकलबाट ५, एक अलआउटबाट २ तथा बोनस तथा अतिरिक्तबाट ८ अंक जोडेको थियो । जनकपुरले रेइडबाट ७, ट्याकलबाट ६ तथा बोनस र अतिरिक्त गरेर ५ अंक मात्रै बटुल्न सक्यो ।

जनकपुरका तानोङसाक श्रीहेरा वेस्ट डिफेन्डर र काठमाडौंका घनश्याम रोक्कामगर रेडर बने । 

कान्तिपुर संवाददाता

Link copied successfully