डीएभी क्रिकेट एकेडेमीलाई इन्डो–नेपाल क्रिकेटको उपाधि 

माघ १८, २०८१

कान्तिपुर संवाददाता

Indo-Nepal Cricket title to DAV Cricket Academy

काठमाडौँ — डीएभी क्रिकेट एकेडेमीले टिपटप इन्डो नेपाल एकेडेमी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मूलपानी मैदानमा सम्पन्न फाइनलमा डीएभीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई ३४ रनले पराजित गर्‍यो ।

टस जितेर ब्याटिङ रोजेको टिपटप डीएभीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ३९ रन बनाएको थियो । श्रेयश अग्रवालले ३९, प्रसंग पौडेलले ३३, प्रसिद्ध जैसीले ३१, कमल शाहीले अविजित १३ र कप्तान आरुष झाले ११ रन बनाए । ग्रेट हिमालयका वंश क्षेत्री र सामीप्य सापकोटाले समान २ विकेट लिए । 

जवाफमा ग्रेट हिमालयनले १९ ओभरमा १ सय ५ रन मात्र बनाउन सक्यो । सुप्रिम सुनारले ४९ बल खेली ५ चौका र २ छक्कासहित ६१ रन बनाए । अभि थपलियाले ११ र प्रबल श्रेष्ठले १० रन जोडे । डीएभीका प्रसिद्धले ३, केशव अग्रवाल र तनिस्ककुमार शाहले २–२ तथा कमल र प्रसंगले १–१ विकेट लिए । 

अलराउन्ड प्रदर्शन गरेका डीएभीका प्रसिद्ध जैसी प्लेयर अफ द फाइनल बने । उत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर ग्रेट हिमालयका वंश क्षेत्री, उत्कृष्ट बलर सामीप्य सापकोटा तथा उदयमान खेलाडी अभिषेक कडायत घोषित भए । उत्कृष्ट विकेटकिपर बोलपुर युथ टाउन क्लब, बंगाल भारतका अत्रिजो रोय घोषित भए । विजयी खेलाडीलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशनकुमार सिंहले पुरस्कार प्रदान गरे । 

डीएभी सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा माघ १६ गतेदेखि सुरु भएको प्रतियोगितामा ६ टिम सहभागी थिए । टिपटपको मुख्य प्रायोजन रहेको प्रतियोगितामा १६ वर्षमुनिका र कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाए ।

कान्तिपुर संवाददाता

Link copied successfully