धनगढी — धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबारदेखि सुरु हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश प्रतियोगिताका खेलहरुका लागि चार वटा पीच निर्माण गरिएका छन् । दर्शकहरुलाई अस्थायी प्याराफिट पनि जडानलगायत आवश्यक पूर्वाधार तयार भइसकेका छन् ।
उद्घाटन खेल डिसिए धनगढी र फ्रेण्ड्स क्लब डडेलधुराबीच हुनेछ । प्रतियोगितामा दर्शकलाई सहज बनाउन धनगढी उपमहानगरपालिकाले धनगढीदेखि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानसम्म नगर बस सेवा सञ्चालन गर्ने भएको छ । नगर बसले धनगढीको क्याम्पस रोडदेखि मुख्य सडक भएर एउटा रुटमा र क्याम्पसचोकदेखि नै मुख्य सडक बाहिरी क्षेत्र भएर अर्को रुटमा प्रत्येक २० मिनेटमा नगर बस सञ्चानल गर्ने जनाएको छ ।
पहिलो छक्का क्याच गर्ने दर्शकलाई एक लाख नगद पुरस्कार घोषणाले पनि प्रतियोगितामा दर्शकको आकर्षणलाई थप्ने भएको छ ।
सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा डीसीए धनगढी, फ्रेण्ड्स युथ क्लब डडेलधुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा तथा समूह ‘बी’मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, न्यु होराईजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।
प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरु विभिन्न क्लबबाट खेल्दैछन् । क्रिकेट प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा प्रतियोगिताको आयोजना गरिएको आयोजक गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले बताए । अर्जुन ट्रफीमा २० लाख नगद पुरस्कार प्रदान गरिने आयोजकको भनाइ छ ।
