मकवानपुर — हेटौंडामा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगिताअन्तर्गत आठौं चरणको खेल सम्पन्न हुँदा एफएम रूपेश जैसवाल र सिन्दिरा जोशी उपाधि नजिक पुगेका छन् ।
२५ औं पुरुष राष्ट्रिय बुद्धिचाल खेलमा पूर्वनेपाल च्याम्पियन जैसवालले सीएम नवीन तण्डुकालाई पराजित गर्नुपूर्व युवा पुरुषोत्तम सिलवालसँग बराबरी खेलेका थिए । रौतहटका जैसवालले जारी प्रतियोगितामा उत्कृष्ट २३०५ रेटिङ पर्फोमेन्स खेल प्रदर्शन गर्दै आफ्नो व्यक्तिगत ३३.८ रेटिङ वृद्धि गर्न सफल भएका छन् । उनले २०९३ रेटिङबाट खेल प्रारम्भ गरेका थिए । प्रतियोगितामा एफएम क्षितिज भण्डारी, काठमाडौंका पुरुषोत्तम सिलवाल र झापाका राजन सुवेदीले समान साढे ५ अंक जोडेर संयुक्त रूपमा दोस्रो स्थान ओगटेका छन् ।
मकवानपुरका क्षितिजले २०९१ रेटिङ स्तरको खेल खेल्दै आफ्नो ६ दशमलव ५ रेटिङ वृद्धि गरेका छन् । उदीयमान पुरुषोत्तमले २०९० को स्तरीय खेल खेल्दै २२ रेटिङ वृद्धि गरेका छन् । वर्तमान नेपाल च्याम्पियन राजन २१३५ रेटिङमा व्यक्तिगत ३२ दशमलव ८ रेटिङ बढाउन सफल भएका छन् ।
अन्तिम तीन चरणको खेल बाँकी हुँदा सीएम शुश्रुत दहाल ५ अंक बनाउँदै तेस्रो स्थानमा छन् । दोलखाका आशिष फुयाँल र काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी ४ दशमलव ५ अंक जोडेर चौथो स्थानमा टिकेका छन् ।
दशौं महिला राष्ट्रिय बुद्धिचाल स्पर्धामा वर्तमान वुमन नेसनल च्याम्पियन सिन्दिरा जोशी उत्कृष्ट प्रदर्शन गरी पुनः उपाधितर्फ बढेकी छिन् । काठमाडौंकी सिन्दिराले ६ दशमलव ५ अंक जोड्ने क्रममा पाँच जित र तीन खेल बराबरी खेलेकी छिन् । उदीयमान खेलाडीद्वय बाँकेकी इशा गिरी र काठमाडौंकी एञ्जल महर्जन दुवैले समान ६–६ अंक जोडेका छन् । संयुक्त दोस्रो स्थान प्राप्त गर्ने क्रममा युवा खेलाडी इशाले एक हार, पाँच जित र दुई खेल बराबर खेलेकी हुन् । युवा एञ्जलले दुई खेलमा हार व्यहोरे भने ६ वटा खेलमा जितको स्वाद चाखेकी छिन् ।
मोरङकी शान्ति धिमालले एक हार, एक बराबरी र ५ खेलमा जित दर्ता गर्दै ५ दशमलव ५ अंक जोडेर तेस्रो स्थानमा रहन सफल भएका छन् । कीर्तिपुर काठमाडौंकी विनीता कपालीले तीन हार र पाँच खेलमा जित हासिल गर्दै सम्भावना जगाएका छन् ।
