काठमाडौँ — फागुनमा हुने तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको नगद पुरस्कार राशि बढाइएको छ । फागुन ११ देखि १९ सम्म राजधानीमा हुने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार जित्नेछन् ।
आयोजक राष्ट्रिय युवा संघ नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै गत वर्षको तुलनामा पुरस्कार राशि बढाएको जनाएको छ । गत वर्ष विजेताले ११ लाख पाएको थियो ।
‘जहाँ युवा, त्यहाँ खेलकुद’ भन्ने नारा साथ हुन लागेको प्रतियोगितामा स्वदेशी र विदेशी गरी १० टिमको सहभागिता रहनेछ । क्वाटरफाइनलसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान र सेमिफाइल तथा फाइनल दशरथ रंगशालामा हुनेछ ।
त्यस्तै उत्कृष्ट खेलाडीले एक लाख, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडीले जनही ५० हजार जित्नेछन् । हरेक खेलका प्लेयर अफ द म्याचले १५ हजार पाउनेछन् । हरेक खेलका विजेता टिमले म्याच मनीको रुपमा २५ हजार पाउने आयोजक युवा संघका अध्यक्ष क्षितिज थेबेले बताए । प्रतियोगिताका खेलहरू कान्तिपुर टेलिभिजन म्याक्सले प्रत्यक्ष प्रसारण गर्नेछ । यो प्रतियोगिता २०७९ सालदेखि सुरु भएको हो ।
