बीकेएसपी एथलेटिक्समा अस्मिताले जितिन् स्वर्ण

माघ १७, २०८१

कान्तिपुर संवाददाता

Asmita wins gold in BKSP athletics

काठमाडौँ — बंगलादेशको ढाकामा भएको छैटौं आमन्त्रण बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा नेपाली खेलाडीले बुधबार एक स्वर्ण र एक रजत पदक जितेको छ । नेपालले अघिल्लो दिन एक रजत र तीन कांस्य पदक जितेको थियो ।

१८ वर्षमुनिका खेलाडी प्रतिस्पर्धा गरेको जुनियर च्याम्पियनसिपमा बुधबार गर्ल्स १५०० मिटर दौडमा नेपालकी अस्मिता भुजेलले स्वर्ण जितेकी थिइन् । स्पर्धामा अस्मिताको यो तेस्रो पदक हो । अघिल्लो दिन उनले ८०० मिटर दौड रजत र रिलेमा कांस्य जितेकी थिइन् ।

ब्वाइजतर्फ १५०० सय मिटर दौडमा पुकारजंग बस्नेतले कांस्य पदक जितेका छन् ।

मंगलबार ब्वाइज ११० मिटर हर्डल्समा शैलेश श्रेष्ठले रजत जितेका थिए । गर्ल्स लङजम्पमा निशा घर्तीले कांस्य जितेका थिए । अस्मितासहित निशा, शैलेश र सन्तकुमार दराईसम्मिलित नेपाली टिमले चार गुणा ४ सय मिटर मिक्स रिलेमा कांस्य जितेको हो ।

च्याम्पियनसिपमा नेपालबाट ६ खेलाडीले भाग लिएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully