काठमाडौँ — पहिलोपल्ट आयोजित केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा च्याम्पियनका लागि जनकपुर नाइट्सले शुक्रबार काठमाडौं माभरिक्सविरुद्ध राखेप कभर्डहलमा प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं त्यही टिम हो, जसले पूरा प्रतियोगितामा जनकपुरलाई शतप्रतिशत जितबाट रोकेको थियो । लिग चरणमा काठमाडौंले जनकपुरलाई ३९–३९ स्कोरको बराबरीमा रोकेर अंक खोसेको थियो । जनकपुरले लिगका चारै खेल जितेर शीर्षस्थान हासिल गरेको थियो । काठमाडौं ३ जित, १ बराबरी र १ हारसँगै तेस्रो भएको थियो ।
जनकपुरले क्वालिफायर १ मा विराटनगर ब्यान्डिट्सलाई हराएर फाइनलमा स्थान बनाएको हो । काठमाडौंले इलिमिनेटरमा धनगढी वाइल्डक्याट्सको चुनौती पन्छाएको थियो । त्यसपछि क्वालिफायर २ मा विराटनगरलाई एकतर्फी खेलमा हराएर काठमाडौं उपाधि होडमा पुगेको गरेको हो ।
काठमाडौंका कप्तान घनश्याम रोका मगरले बिहीबार पत्रकार सम्मलेनमा फाइनल पुग्ने दुवै टिम राम्रो भएको र जनकपुर त्यसमा निकै राम्रो टिम भएको पनि बताए । उनले भने, ‘तर, हामी राम्रो खेल्दै एनकेएल च्याम्पियन बन्न चाहन्छौं ।’ उनी राष्ट्रिय टोलीका समेत कप्तान हुन् । उनी यही सिजन हरियाणा स्टिलर्सबाट भारतको प्रो कबड्डी लिग च्याम्पियन भएपछि एनकेएल खेल्न नेपाल आएका हुन् ।
काठमाडौंका प्रशिक्षक सरोजकुमार सिंहले पनि आफ्नो टिम उपाधि जित्न तयार रहेको बताए । ‘फाइनल खेल्ने सबै टिमको चाहना च्याम्पियन बन्ने हुन्छ र हाम्रो पनि पहिलोपल्ट एनकेएलमा च्याम्पियन बन्ने नै हो,’ उनले भने ।
जनकपुरका प्रशिक्षक पार्वती राई फाइनल कसले जित्छ भन्न नसकिने तर आफ्नो उपाधि उचाल्ने चाहना भएको बताइन् । एनकेएलका ६ टिमका प्रशिक्षकमध्ये एक्ली महिला रहेकी उनले भनिन्, ‘हाम्रो टिमले लिगमा राम्रो खेल्यो । क्वालिफायरमा पनि राम्रो गरेर फाइनल पुगेका छौं । अहिलेसम्म राम्रो खेलिरहेका छौं । अब बाँकी एक खेल राम्रो खेल्दै च्याम्पियन ट्रफी उचाल्न चाहन्छौं ।’ कबड्डीकी मुख्य प्रशिक्षक रहेकी राईकै नेतृत्वमा नेपाली महिला टिमले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेको थियो ।
शुक्रबारको खेल
जनकपुर नाइट्सविरुद्ध काठमाडौं माभरिक्स
समय : साँझ ६:३० बजे
स्थान : राखेप कभर्डहल
