मकवानपुर — राष्ट्रिय बुद्धिचाल प्रतियोगिताअन्तर्गत् पुरुषतर्फको खेलमा रौतहटका एफएम रुपेश जैसवालले ६ चरणको खेलमा ५.५ अंक जोड्दै आफ्नो अग्रता कायम राखेका छन् । प्रतियोगिताको सुरु दिनबाटै उपाधिमा आफ्नो दाबेदारी पेस गरेका पूर्वनेपाल च्याम्पियनसमेत रहेका रुपेशले पोजिसन डाउन अवस्थामा अनुभव प्रयोग गर्दै खेल उल्टाएर उपाधिनजिक पुगेका छन् । उनी दोस्रो स्थानमा संयुक्त रूपमा रहेका अन्य खेलाडीभन्दा १.५ अंकले अगाडि रहेका छन् ।
२५ औं संस्करणको प्रतियोगितामा दोस्रो स्थानको लागि कडा प्रतिस्पर्धा भइरहेको छ । मकवानपुरकाएफएम क्षितिज भण्डारी, दोलखाका आशिष फूयाँल र काठमाडौंका पुरुषोत्तम सिलवाल समान ४ अंक बनाएर रुपेशलाई पछ्याइ रहेका छन् । अन्य चार जना खेलाडीले साढे ३ अंक जोडेर तेस्रो स्थानलाई साझा बनाएका छन् । जसमा झापाका सिएम शुश्रुत दहाल, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी र काठमाडौंका प्रेमकृष्ण महर्जन रहेका छन् ।
प्रतियोगिता संयोजक महासंघका महासचिव धरमबहादुर लामाले सातौं चरणको खेल जारी रहेको जानकारी गराइका छन् । लामाले राष्ट्रिय विजेतालाई काजकिस्तानमा हुने ४६ औं ओलम्पियाड, श्रीलंकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता र अन्य अफिसियल खेलमा महासंघले सहभागीता गराउने निर्णय सुनाएका छन् ।
चौथो दिनको खेल समाप्त हुँदा दसौँ महिला राष्ट्रिय चेसमा काठमाडौंकी सिन्दिरा जोशी र एञ्जल महर्जनले संयुक्त पहिलो स्थान कब्जा गरेका छन् । छैटौं चरणको समाप्तिमा साविक विजेता सिन्दारा जोशीलाई कडा टक्कर प्रस्तुत गरेकी १३ वर्षीय एञ्जलले समान ५ अंकमा रहँदै रोचक अंक तालिका बनाएकी हुन् । सिन्दिराले झापाकी कृतिसारा अधिकारीसँग खेल बराबरी गर्दा एकल अग्रता कायम गर्ने मौका चुकाएकी छिन् भने एञ्जलले ताप्लेजुङकी सुशीला गुरुङलाई हराउँदै स्कोर बराबरी गर्न सफल भइन् ।
प्रतिस्पर्धामा साढे ४ अंक बनाउदै संयुक्त दोस्रो स्थान ओगट्न सफल बाँकेकी इशा गिरी र मोरङकी शान्ति धिमालले शीर्ष खेलाडीलाई पछ्याइरहेका छन् । खेलमा इशाले निहाना श्रेष्ठ र शान्तिले नयुमा मगरलाई पन्छाउन सफल रहे । क्रमशः झापाकी पुनम प्रसाईं र काठमाडौंकी विनिता कपाली समान ४ अंक जोडेर संयुक्त तेस्रो स्थानमा रहेका छन् । छैटौं चरणको खेलमा विनितालाई हाराएर पुनमले महत्त्वपूर्ण अंक जोडेका हुन् ।
मकवानपुर जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिताका उपविजेताले १५ हजार र तृतीय हुनेले १० हजार पुरस्कार प्रदान गरिनेछ भने खेल आयोजना गर्न कूल २५ लाख खर्च हुनेछ ।
