काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबल खेलबाट आज सन्न्यासको घोषणा गरेकी छिन् । करिब ६ वर्षअघि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिइसकेकी ३७ वर्षीय अनुले विभागीय टोली एपीएफबाट घरेलु फुटबल भने खेल्दै आएकी थिइन् ।
आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न एन्फा महिला लिग फुटबलको फाइनल खेलमा उनले एक गोल गरेकी थिइन् । उनको टिम एपीएफले नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै उपाधि जितेको छ ।
एपीएफका खेलाडीले उहाँलाई गार्ड अफ द अनरबाट सम्मान गर्दै बिदाइ गरेको छ । अनुले सन् २०१० मा बङ्गलादेशविरुद्ध दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबल प्रतियोगितामा नेपाली यू–२३ टोलीमा डेब्यु गरेकी थिइन् ।
अनुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेकी थिइन् । उनले साफ च्याम्पियनसीपलगायतका विभिन्न प्रतियोगितामा राष्ट्रिय जर्सीबाट ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् ।
