व्यासमा आस्मा च्याम्पियन

माघ १६, २०८१

सम्झना रसाइली

Asma Champion in Vyas

तनहुँ — रोल्पाकी आस्मा विकले चौथो खुला व्यास नगर महिला हाफ म्याराथनको उपाधि जितेकी छन् । बुधबार व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्म २१ किलोमिटरको दूरी उनले १ घण्टा ५७ मिनेट ३४ सेकेन्डमा पार गरी उपाधि जितेकी हुन् ।

सहिद दिवसको अवसरमा व्यास नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा ओखलढुंगाकी लाक्पा निमा शेर्पा दोस्रो र उदयपुरकी विमला तामाङ तेस्रो भए । उनीहरूले उक्त दूरी क्रमशः २ घण्टा ४ मिनेट ५३ सेकेन्ड तथा २ घण्टा १२ मिनेट ३८ सेकेन्डमा पूरा गरे ।

व्यास–१० की नम्रता गुरुङ, व्यास–४ की सन्ध्या अधिकारी, व्यास–४ की अस्मिता थापा, व्यास–३ की संगीता रानाभाट र व्यास–११ की युना मजकोटीले सान्त्वना स्थान हात पारे । 

३३ खेलाडीको सहभागिता रहेको स्पर्धामा च्याम्पियनले ४१ हजार ८१, दोस्रोले ३१ हजार ८१ र तेस्रोले २१ हजार ८१ रुपैयाँसहित ट्रफी पाए । सान्त्वना हुने ५ जना जनही ११ हजार ८१ रुपैयाँ नगदबाट पुरस्कृत भए ।

नगरपालिकाले प्रत्येक वर्ष माघ १६ मा ४४ किलोमिटर दूरीको अल्ट्रा म्याराथनको आयोजना गर्ने गरेको थियो । यस वर्ष अल्ट्रा म्याराथन नगरी महिला हाफ म्याराथन गरिएको आयोजकले जनाएको छ ।

वेदव्यासको जन्मभूमि, परासर ऋषिको तपोभूमि दमौली र ऐतिहासिक स्थल तनहुँसुरलाई खेलकुदका माध्यमबाट प्रचार गर्ने उद्देश्यका साथ म्याराथन गरिएको व्यासका नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully