पोखरा — पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब इलिमिनेटरमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार बिहान भएको खेलमा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस महिलातर्फको इलिमिनेटरमा प्रवेश गरेको हो । पुलिसले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेटमा १६–१० को आर्मीको अग्रतालाई उल्टाउँदै पुलिसले जित निकालेको थियो । अन्य सेटमा भने पुलिसले सहज जित निकाल्यो ।
पहिलो चरणमा पराजित समूहबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहँदै पुलिस इलिमिनेटरमा प्रवेश गरेको हो । पुलिसले यसअघि ट्राभल इन्क्व्यारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ को सेटमा हराएको थियो । आर्मी र ट्राभल इन्क्व्यारी एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका छन् ।
पुलिसले अब विजेता समूहबाट तेस्रो स्थानमा रहने टोलीसँग इलिमिनेटर खेल्नेछ ।विजेता समूहमा आयोजक टाइगर ग्रुप, एपीएफ र टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लब छन् ।
हाल विजेता समूहबाट महिलातर्फ टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लब र आयोजक टाइगर ग्रुपबीच प्रतिस्पर्धा भइरहेको छ । मंगलबार नै पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र एपीएफबीच र दोस्रो खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने छ ।
