मकवानपुर — होटल सामनाको सभाहलमा भइरहेको २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा मंगलबार पाँचौं चरणका खेल सकिँदा एफएम रुपेश जैसवालले साढे चार अंक बनाएर अग्रता लिएका छन् । रौतहटका रुपेशले वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीलाई हराए ।
राष्ट्रिय चेस प्रतिस्पर्धामा मकवानपुरका क्षितिज भण्डारी र झापाका सुश्रुत दहाल समान ३.५ अंक जोडेर संयुक्त दोस्रो स्थानमा छन् । फिडे मास्टर क्षितिजले काठमाडौंका क्यान्डिडेट मास्टर नवीन तण्डुकार र सीएम सुश्रुतले भक्तपुरका विनय थापालाई हराए ।
दोलखाका आशिष फुयाल, काठमाडौंका पुरुषोत्तम सिलवाल र एफएम रिजेन्द्र राजभण्डारी समान ३ अंकसहित संयुक्त तेस्रो स्थानमा छन् । १० औं महिला राष्ट्रिय बुद्धिचालको पाँचौं खेल सकिँदा वर्तमान वुमन च्याम्पियन सिन्दिरा जोशीले ४.५ अंक जोडेर अग्रता बनाएकी छन् । राष्ट्रिय महिला विजेता सिन्दिराले ४ जित र एक खेल बराबरी खेलेकी छन् ।
पहिलो हार बेहोरेकी काठमाडौंकी एञ्जल महर्जन ४ अंक लिएर दोस्रा स्थानमा छन् । उनले ४ जित र एक हार सामना गरेकी छन् । काठमाडौंकै विनिता कपाली ४ अंकसहित संयुक्त दोस्रो स्थानमा छन् । उनले ४ खेलमा जित पाएकी छन् । बाँकेकी इशा गिरी र मोरङकी शान्ति धिमाल समान ३.५ अंक लिएर संयुक्त तेस्रो स्थानमा छन् । दुवै खेलाडीले समान ३ जित र एकमा बराबरी खेले । प्रतियोगितामा बुधबार थप दुई चरणको खेल हुनेछ ।
