सुर्खेत — नेपाली सेनाले फागुन ३ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ। कर्णालीको पहिचानका रूपमा रहेको लामो दूरीको दौडको प्रवर्द्धन तथा खेलकुद क्षेत्रको विकास गर्दै राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न भन्दै दौड प्रतियोगिता आयोजना गर्न लागेको हो।
उत्तर–पश्चिम पृतना हेडक्वार्टर नेमारेको आयोजनामा हुने प्रतियोगितामा लामो र छोटो दूरीका दौडसहित पैदल यात्रा समावेश गरिने छ । पृतनाका सहायक रथी दिनेश रजौरेका अनुसार राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए।
नेपाली सेना र जनताबीचको सम्बन्धलाई मजबुत बनाउनलाई रन फर युनिटी आयोजना गर्न लागिएको उनको भनाई छ । सहायक रथी रजौरेले भने, 'हाम्रो गौरव हाम्रो सेना भन्ने नाराका साथ पाँच किलोमिटर पैदल यात्रादेखि २१ किलोमिटरसम्मको समावेश गरिएको छ।'
पाँच किलोमिटर दैडमा सरकारी कार्यालयमा कार्यरत कर्मचारी, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाली सेनाका इच्छुक सकल दर्जा, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू र भूतपूर्व सुरक्षाकर्मीहरू सहभागी हुनेछन्। १० किलोमिटरतर्फ खुल्ला पुरुष र खुल्ला महिला दौडको प्रतियोगितामा करिब एक हजारको सहभागिता रहने अपेक्षा सेनाले गरेको छ।
पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, पाँच हजार र तीन हजार, १० किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र पाँच हजार नगदसहित प्रमाणपत्र पाउनेछन् भने २१ किलोमिटर दौडमा प्रथम हुनेले ३५ हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ पुरस्कार र प्रमाणपत्र पाउने छन्।
प्रतियोगिताकै दिन नेपाली सेनाले सैनिक सामग्री तथा फोटो प्रदर्शनीको पनि आयोजना गरेको छ। उत्तर–पश्चिम पृतनाअन्तर्गत रहेका युद्धक तथा युद्ध मद्दत फौजहरूले प्रयोग गर्ने सामग्री तथा उपकरणहरूको साथसाथै विगतमा उक्त युनिटहरूले गरेका मुख्य मुख्य कार्यहरूको फोटो प्रदर्शनी गरिने सेनाले जनाएको छ।
