काठमाडौँ — मध्यपश्चिम विश्वविद्यालयले जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मध्यपश्चिमले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनलमा भारतको लखनउ विश्वविद्यालयलाई ५८ रनले पराजित गर्यो ।
दिवान पुन र विपिन खत्रीले अर्धशतक बनाएपछि मध्यमपश्चिमले २० ओभरमा ६ विकेट गुमाई १ सय ७५ रन बनाएको थियो । ८ ओभरमा ३८ रन बनाउँदा शीर्ष चार ब्याटर रवीन्द्रजंग शाही (७), निश्चल रावल (१९), दीपकप्रसाद डुम्रे (३) विपिन रावल (२) लाई गुमाइसकेको थियो । राजकुमार शाह पनि १५ रनमै आउट भए ।
दिवान र विपिनले छैटौं विकेटमा ७ ओभरभित्र ७२ रनको साझेदारी गरेका थिए । दिवानले ३६ बलमा ५८ रन बनाए । १९ ओभरको अन्तिम बलमा आउट भएका उनले ६ चौका र २ छक्का प्रहार गरे । विपिनले २८ बलमा अविजित ५९ रन बनाए । उनले ४ चौका र २ छक्का प्रहार गरे । लखनउबाट अभिषेक सोनी, मनन कन्दपल र हर्षबर्धन सिंहले १–१ विकेट लिए ।
ओपनर मननले ५८ रन बनाए पनि लखनउले ९ विकेट गुमाई १ सय १७ रनमात्र जोड्न सक्यो । उनले ५७ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे । हर्षबर्धन १५ र यशबर्धनले १४ रन जोडे । प्लेयर अफ द फाइनल दिवानले ३ विकेट पनि लिए । उनले ४ ओभरमा २२ रन खर्चेका थिए । राजकुमारले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । दिनेश अधिकारी, सुवास भण्डारी र रवीन्द्रले १–१ विकेट लिए । कुनै विकेट नलिएका विपिनले ४ ओभरमा १० रनमात्र खर्चिए ।
उपाधिसँगै मध्यपश्चिमले १५ लाख र उपविजेता लखनउले १० लाख रुपैयाँ पुरस्कार जितेको छ । नेपाल विद्यार्थी संघले जलवायु परिवर्तनको मुद्दा उठाउने उद्देश्यका साथ आयोजना गरेको प्रतियोगिताको सेमिफाइनलमा मध्यपश्चिमले त्रिविलाई ७७ रन र लखनउले ढाका विश्वविद्यालयलाई ७ विकेटले हराएको थियो ।
मध्यपश्चिमका विपिन प्लेयर अफ द सिरिज र उत्कृष्ट बलर चुनिए । उनले सिरिज भएवापत १५ हजार र उत्कृष्ट बलर भएवापत १० हजार पाए । त्रिविका लोकेश बम उत्कृष्ट ब्याटर बन्दै १० हजार जिते । विजेता टिम र खेलाडीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र नेविसंघका सभापति दुजाङ शेर्पाले पुरस्कार प्रदान गरेका थिए ।
