पोखरा — पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा तेस्रो दिनसम्म विभागीय टिम हाबी देखिएका छन् । प्रतियोगितामा सहभागी विदेशी टिमको प्रदर्शन अपेक्षाकृत रहेको छैन ।
मंगलबार महिलातर्फ एपीएफ क्लबले टिपटप न्यु डायमन्ड स्पोटर््स क्लबलाई ३–० को सोझो सेटमा हरायो । पोखरा रंगशालामा एपीएफ २५–२२, २५–२३, २५–२१ को सेटमा जित निकाल्न सफल भयो । एपीएफकी निरुता ठगुन्ना टाइगर अफ द म्याच घोषित भइन् । बेस्ट स्पाइकर न्यु डायमन्डकी सलिना बुढामगर बनिन् ।
थाइल्यान्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लबले लगातार दोस्रो हार बेहोरेको छ । थाई क्लबले नेपाल पुलिस क्लबसँग ३–१ को सेटले पराजित भोगेको हो । पहिलो
सेट २३–२५ ले गुमाएको पुलिसले त्यसपछि पुनरागमन गरेको हो । पुलिसले त्यसपछि २५–१४, २५–१७, २५–१७ ले सेट आफ्नो पक्षमा पार्यो । पुलिस पहिलो खेलमा न्यु डायमन्डसँग पराजित भएको थियो ।
पुरुषतर्फ नेपाल पुलिस क्लबले भारतको सुनिल भलिबल क्लबमाथि ३–१ को जित दर्ता गरायो । पुलिसले २५–१०, २५–१४, २२–२५ , २५–२२ ले नतिजा निकाल्यो । टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबीचको खेल खराब प्रकाशका कारण स्थगित भयो । हेल्प नेपाल २५–२२, २७–२५, २५–२७ ले अगाडि छ ।
