काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीका कप्तान अनिलकुमार साह शैक्षिक परामर्श संस्था अप्टिमस ग्लोबलको ब्रान्ड एम्बासडरमा भएका छन् ।
राष्ट्रिय क्रिकेट टोलीका शीर्षपंक्तिका ब्याटर अनिल र अप्टिमस ग्लोबलबीच तीनवर्षे सम्झौता भएको छ । अप्टिमसका अध्यक्ष असिम शर्मा मैनाली र क्रिकेटर साहले सम्झौतामा हस्ताक्षर गरे । दुवैले आर्थिक पक्ष खुलाएका छैनन् । ‘शिक्षा र खेलकुदको अन्तरसम्बन्ध छ जस्तो लाग्छ, किनभने हामी विदेशमा खेल्दा नेपाली टोलीलाई समर्थन गर्न आउने ९० प्रतिशतमाथि विद्यार्थी नै हुनुहुन्छ । घरेलु मैदानमा खेल्दा पनि विद्यार्थी नै धेरै मैदानमा आएर समर्थन गर्नुहुन्छ,’ अनिलले भने, ‘यस्तो खाले सम्झौताले खेलाडीलाई आर्थिक हिसाबमा उभिन निकै सहयोग गर्छ ।’
सात वर्षदेखि नेपाली राष्ट्रिय टोलीमा रहेका अनिलको नेतृत्वमा जनकपुर बोल्ट्सले गत महिना एनपीएलको उपाधि जितेको थियो । यद्यपि हातमा लागेको चोटका कारण उनले क्वालिफायरदेखि खेलेका थिएनन् । नेपाली राष्ट्रिय टोलीका अधिकांश खेलाडीहरू शैक्षिक परामर्श संस्थाको ब्रान्ड एम्बासडर बन्दै आएका छन् ।
शैक्षिक परामर्श संघ नेपाल इक्यानका अध्यक्ष शेषराज भट्टराईले नेपाली क्रिकेटको विकास तथा उत्थानमा इक्यानका सदस्य संस्थाहरूको अग्रसरताप्रति प्रशंसा गरे । इक्यानका पूर्वअध्यक्ष विष्णुहरि पाण्डे र प्रकाश पाण्डे तथा नेपाल लोकतान्त्रिक खेलकुद संघका महासचिव दीपक गुरुङले शैक्षिक परामर्श संस्था र नेपाली क्रिकेट हातेमालो गरेर अगाडि बढिरहेको जनाए । नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशनकुमार सिंहले इक्यानले जस्तै व्यापारिक घरानाले पनि क्रिकेटरलाई आबद्ध गर्नुपर्ने औंल्याए ।
अप्टिमसका प्रमुख मैनालीले अनिलसँगको सम्झौता सुरुआत मात्र भएको र भविष्यमा धेरै सहकार्य गर्न सकिने जनाए ।
