महिला टिम नगदसहित सम्मानित

माघ १४, २०८१

कान्तिपुर संवाददाता

Women's team awarded with cash

काठमाडौँ — गोर्खा समाज बेल्जियमले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई नगदसहित सम्मान गरेको छ । समाजले नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी तथा प्रशिक्षकसँगको समन्वयमा टोलीलाई २ लाख २२ हजार ३ सय २२ रुपैयाँ उपलब्ध गराएको हो ।

सोमबार महिला टोलीका पूर्वप्रशिक्षक बालगोपाल महर्जनको समन्वयमा अखिल नेपाल फुटबल संघ ( एन्फा)की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, चिफ कोच अरुणा गुरुङ, ओलाम्पियन संगीना वैद्य लगायतले खेलाडीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । 


कार्यक्रममा राष्ट्रिय टोलीका खेलाडीहरू दीपा शाही, हीरा केसी अनिता बस्नेत, सरू लिम्बू, अनिता केसी, सविता रानामगर, रेणुका नगरकोटे र निशा थोकरको सहभागिता रह्यो । मुख्य प्रशिक्षक राजेन्द्र तामाङ पनि कार्यक्रममा सहभागी थिए । 


अञ्जीला तुम्बापो सुब्बाको कप्तानीमा रहेको नेपाल घरेलु मैदानमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग २-१ ले पराजित हुँदा उपविजेतामा सीमित बनेको थियो । 

कान्तिपुर

Link copied successfully