मकवानपुर — हेटौंडामा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो चरण सम्पन्न हुँदा एफएम रूपेश जैसवालले अग्रता कायम गरेका छन् ।
लगातारको जितसँगै पूर्वनेपाल च्याम्पियन जैसवालले पूर्ण ३ अंक जोडेर राष्ट्रिय च्याम्पियनको पुन: दाबी पेस गरेका हुन् । रौतहटका २०९३ रेटेड रुपेशले ललितपुरका १९५२ रेटेड सुरोज महर्जन, झापाका २०२१ रेटेड शुश्रुत दहाल, काठमाडौंका १८८२ रेटेड प्रेमकृष्ण महर्जनलाई क्रमशः पराजित गर्न सफल भएका छन्।
दोलखाका आशिष फूँयालले पनि अपराजित २.५ अंक बनाउँदै प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका छन्। दोश्रो स्थानका १९८१ रेटेड खेलाडी आशिषले काठमाडौंका २०१६ रेटेड एफएम रिजेन्द्र राजभण्डारी र भक्तपुरका १६८७ रेटेड विनय थापालाई हराए भने २०४५ रेटेड पुरुषोत्तम सिलवालसँग बराबरी खेलेका छन्।
स्पर्धामा काभ्रेका २०७० रेटेड एफएम क्षितिज भण्डारी, धैर्यवान खेलाडी प्रेमकृष्ण महर्जन दुवैले समान २-२ अंक प्राप्त गर्दै संयुक्त तेस्रो स्थान ओगटेका छन्। यस्तै झापाका शुश्रुत दहाल, वर्तमान नेपाल च्याम्पियन १९८२ रेटेड राजन सुवेदी र काठमाडौंका सीएम नवीन तण्डुकारले समान १.५ अंक हासिल गरेका छन्। सुनसरीका १८७८ रेटेड धीरेन राई, युवा पुरुषोत्तम सिलवाल, सुरोज महर्जन, रिजेन्द्र राजभण्डारी १ अंकको खाता खोलेका छन्। विनय थापा भने अंकविहीन छन्।
महिला विधातर्फ काठमाडौंका सिन्दारा जोशी र ललितपुरका एञ्जल महर्जनले सबै खेल जितेर संयुक्त अग्रस्थान हासिल गरेका छन्।
वर्तमान वोमन नेसनल च्याम्पियन सिन्दिराले काठमाडौंका निहाना श्रेष्ठ, रुकुमका नयुमा मगर र चितवनका लक्ष्मी कँडेलमाथि जित दर्ता गरेकी छिन्। एञ्जलले ओलम्पियाड खेलाडी शान्ति धिमाल, निहाना श्रेष्ठ र नयुमा मगरलाई हराएकी हुन्।
झापाका पुनम प्रसाईं, ताप्लेजुङका सुशीला गुरुङ, मोरङका शान्ति धिमाल, बाँकेका इशा गिरी, झापाका कृतिसारा अधिकारी र काठमाडौंका विनीता कपाली सबैले समान २-२ अंक जोडेर संयुक्त दोस्रो स्थान ओगटेका छन्।
