काठमाडौँ — केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो चरणको खेल सोमबार सुरु हुँदै छ । अपराजित रही शीर्ष स्थानमा रहेको जनकपुरले विराटनगर ब्यान्डिट्ससँग क्वालिफायर १ मा तथा काठमाडौं माभरिक्स र धनगढी वाइल्डक्याट्स इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् ।
जनकपुरले त्रिपुरेश्वरस्थित कभर्डहलमा भइरहेको एनकेएलको लिग चरणमा चार जित र एक बराबरीसँगै २३ अंक बनाएर शीर्षस्थान कब्जा गरेको थियो । यससँगै जनकपुरले एनकेएलको क्वालिफायर १ खेल्ने पनि निश्चित गरेको थियो ।
लिगका शीर्ष दुई टिमले क्वालिफायर १ खेल्ने प्रावधानअनुसार जनकपुर र दोस्रो स्थानमा रहेको विराटनगरबीचको प्रतिस्पर्धा हुनेछ । काठमाडौं र धनगढीले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् र विजेता टोली क्वालिफायर २ मा पुग्नेछ । फाइनल माघ १८ गते हुनेछ ।
मुख्य प्रशिक्षक पार्वती राईले सम्हालेको जनकपुरले राउन्ड रोबिन लिगमा हिमालयन रेइडर्सलाई ३५–२४, धनगढी वाइल्डक्याट्सलाई ३७–३१, विराटनगर ब्यान्डिट्सलाई ४०–३८ र पोखरा लेकर्सलाई ३६–२९ ले पराजित गरेको थियो भने अन्तिम खेलमा काठमाडौं माभरिक्सविरुद्ध ३९–३९ को रोमाञ्चक बराबरीमा टुंगिएको थियो ।
६ सहरका ६ टिम सहभागी एनकेएलको पहिलो संस्करणमा जनकपुर नाइट्स (२३), विराटनगर ब्यान्डिट्स (२१), काठमाडौं माभरिक्स (१९) र धनगढी वाइल्डक्याट्स (११) ले लिगको शीर्ष चारमा रहँदै प्ले–अफमा स्थान बनाउँदा पुछारका दुई टिम पोखरा लेकर्स (४ अंक) र बुटवलको हिमालयन रेइडर्स (७ अंक) भने लिग चरणबाटै बाहिरिए ।
एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित एनकेएलमा ७ वा त्योभन्दा कम अन्तरको हारमा टिमले १ अंक पाउने प्रावधान छ । जित्ने टिमले ५ अंक र स्कोर बराबरी भएमा ३–३ अंक प्राप्त हुन्छ ।
