मध्यपश्चिम र लखनऊ विश्वविद्यालय फाइनलमा

माघ १४, २०८१

कान्तिपुर संवाददाता

Midwest and Lucknow University in the finals

काठमाडौँ — मध्यपश्चिम विश्वविद्यालय र भारतको लखनऊ विश्वविद्यालयले जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । सोमबार सेमिफाइनलमा मध्यपश्चिमले त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई ७७ रन र लखनऊले ढाका विश्वविद्यालयलाई ७ विकेटले पराजित गरे ।

टस जितेर ब्याटिङ रोजेको मध्यपश्चिमले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाई १ सय १८ रन बनायो । ओपनर रवीन्द्रजंग शाहीले ६९ र दीपकप्रसाद डुम्रेले ६३ रन बनाए । निश्चल रावल ४ रनमात्र बनाई आउट भएपछि यी दुईले दोस्रो विकेटमा ८९ रनको साझेदारी गरे ।

ओपनर रवीन्द्रले ५० बल खेल्दै १ चौका र ६ छक्का तथा प्लेयर अफ द म्याच दीपकले ३२ बलमा समान ५ चौका र छक्का प्रहार गरे । दिवान पुनले १२ बलमा ४ चौकासहित २३ रन बनाए । विपिन खत्री ३ र सुवास भण्डारी ५ रनमा आउट भए । त्रिविबाट मुकेश ओझाले ४ ओभरमा ६५ रन खर्चेर २ तथा अमितकुमार मण्डल, भीम सार्की, सिमोन रोय र सन्तोषबहादुर चन्दले १–१ विकेट लिए ।

Midwest and Lucknow University in the finalsजवाफमा त्रिवि विद्यालय १८.३ ओभरमा १ सय १४ रनमै अलआउट भयो । ओपनर लोकेश बमले २२ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरे । सुरेन्द्रप्रसाद पन्त १८, सिमोन १६, भीम १५ र आशिष भट्टराई १० रनमा आउट भए । मध्यपश्चिमबाट विपिन, दिवान र सुवासले २–२ तथा राजकुमार शाह र विनित खत्रीले १–१ विकेट लिए ।

अर्को खेलमा ढाकाले पहिला ब्याटिङ गर्दै ४ विकेट गुमाई १ सय ७९ रन बनायो । इफ्तिखार हुसैनले अविजित ९५ रन बनाए । उनले ५६ बल खेल्दै ९ चौका र ४ छक्का प्रहार गरे । सिफत सदिक खानले ३१ बलमा ६ चौका र २ छक्कासहित ५१, जोहन फिर्दोष जामीले अविजित १५ रन बनाए ।

लखनऊले १६.५ ओभरमै लक्ष्य पूरा गरेको थियो । यशबर्धन सिंहले अविजित ८२ रन बनाएर लखनऊलाई जिताए । उनले ३९ बलमा ११ चौका र ४ छक्का प्रहार गरे । मनन कन्दपलले २४ बलमा ८ चौका र ४ छक्कासहित ५९ रन बनाए ।   

कान्तिपुर

Link copied successfully