कृष्णप्रसाद भट्टराई स्मृति कराते फागुनमा

माघ १४, २०८१

कान्तिपुर संवाददाता

Krishna Prasad Bhattarai Memorial Karate in Fagun

काठमाडौँ —  फागुन तेस्रो साता कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता हुने भएको छ । नेपाल कराते महासंघको प्राविधिक सहयोग र गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा जिल्ला प्रमुख डोजो लगनखेलले प्रतियोगिता फागुन १६ देखि १८ सम्म सातदोबाटोस्थित नेपाल कराते ऐकेडेमीमा आयोजना गर्ने भएको छ ।

कराते महासंघको वार्षिक क्यालेन्डरमा समावेश प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ७५, ८४ केजीमुनि र ८४ केजीमाथि तथा एकल र टिम काता प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिलातर्फ एकल र टिम कातासहित ४५, ५५ ६१, ६५, ६८ केजीमुनि र ६८ केजीमाथि तौल समूह समावेश गरिएको छ ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीले भाग लिनेछन् । प्रत्येक टोलीमा २१ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक रहने छ । प्रतियोगिता आयोजनाको अनुमानित बजेट ५५ लाख रुपैयाँ रहेको आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए ।

विजेताले ट्रफीसहित १ लाख, उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । फेयर प्ले टिमलाई ट्रफी तथा उदीयमान महिला तथा पुरुष खेलाडीलाई स्वर्ण पदकसहित आइएफले मान्यताप्राप्त कम्बो गी (पोसाक) प्रदान गरिनेछ ।

आयोजक र गोदावरी नगरपालिकाबीच प्रायोजन गर्ने पूर्वसहमतिअनुसार चौथो संस्करणका लागि सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठ र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मुख्य प्रायोजक गोदावरी नगरपालिकाले २० लाख रुपैयाँ उपलब्ध गराउने छ ।

कान्तिपुर

Link copied successfully