राजन र ईशाको उत्कृष्ट प्रदर्शन 

माघ १४, २०८१

कान्तिपुर संवाददाता

Excellent performance by Rajan and Isha

मकवानपुर — नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । हेटौंडास्थित होटल सामनामा सुरु च्याम्पियनसिपमा वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीले विजय हात पारेका छन् । 

२४ औं राष्ट्रिय बुद्धिचाल विजेता राजनले पहिलो चरणको खेलमा ललितपुरका टाक्टिस मास्टर सरोज महर्जनलाई टेक्निकल खेल प्रदर्शन गर्दै पराजित गरे ।

महासंघले केही वर्ष देखि राष्ट्रिय च्याम्पियनसिपको फर्म्याटमा नेसनल सिनियर च्याम्पियनका शीर्ष ३ खेलाडी र नेसनल ‘बी’ बाट शीर्ष ९ जना खेलाडी समावेश गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको छ । दुवै विधाका समान १२ जना खेलाडीबीच एकअर्कासँग ११ चरणको प्रतिस्पर्धापछि राष्ट्रिय विजेता घोषणा गर्ने प्रावधान छ । 

पहिलो चरणको स्पर्धामा नेपाल दोस्रा सीएम सुश्रुत दाहाल भने पूर्वनेपाल च्याम्पियन एफएम रूपेश जैसवालसँग पराजित भएका छन् । नेपाल तेस्रा एफएम क्षितिज भण्डारीले आशा गरिएका युवा खेलाडी पुरुषोत्तम सिलवाललाई निराश पारेका छन् । सुरुमा एउटा पाउन छोडेर खेलेका सिलवालले अन्तिममा समयको दबाब झेल्न पुगेका थिए ।

काठमाडौंका प्रेमकृष्ण महर्जनले सुनसरीका धीरेन राईलाई कठिन खेलमा हराउन सफल भए । अनुभवी खेलाडी प्रेमकृष्णले धीरेनविरुद्ध सटीक चाल चाल्दै खेल आफ्नो पक्षमा पारेका थिए । पूर्वनेपाल च्याम्पियन सीएम नवीन तण्डुकारले भक्तपुरका युवा खेलाडी विनय थापालाई सहज रूपमा पराजित गरे । दोलखाका युवा खेलाडी आशिष फुयालले एफएम रिजेन्द्र राजभण्डारीविरुद्ध उत्कृष्ट खेल पस्केर पिस अप हुँदै जित निकाले । 

महिलातर्फ उदीयमान खेलाडी ईशा गिरीले पुनम प्रसाईं र एञ्जल महर्जनले शान्ति धिमाललाई पराजित गरे । बाँकेकी ईशाले झापाकी पुनमविरुद्ध विसप सेन्टरलाइज गर्दै महत्त्वपूर्ण स्क्वायर कभर गरी जित हासिल गरिन् ।

काठमाडौंकी एञ्जलले भने ओलम्पियाड खेलाडी शान्ति धिमाललाई एक्सिलेन्ट मुभ चाली हराइन् । वर्तमान नेपाल च्याम्पियन सिन्दिरा जोशीले निहाना श्रेष्ठमाथि र झापाकी कृतिसारा अधिकारीले नयुमा मगरमाथि सहज जित निकालेका छन् । ताप्लेजुङका सुशीला गुरुङले चितवनका लक्ष्मी कँडेललाई र विनिता कपालीले दानिशा पुरीलाई पराजित गरेका छन् । 

प्रतियोगिता संयोजक महासंघका महासचिव धरमबहादुर लामाले दोस्रो दिन थप दुई चरणको खेल हुने जानकारी गराए । उनले प्रतियोगिता आयोजनार्थ २५ लाख खर्च हुने र सो खर्च बागमती प्रदेश खेलकुद विकास परिषद्, राष्ट्रिय खेलकुद परिषद्, हेटौंडा उपमहानगरपालिकालगायतका स्थानबाट रकम संकलन गरिने बताए ।

कान्तिपुर

Link copied successfully