ढाका विश्वविद्यालय सेमिफाइनलमा

माघ १४, २०८१

कान्तिपुर संवाददाता

Dhaka University in the semi-finals

काठमाडौँ — ढाका विश्वविद्यालयको विजयसँगै जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको समीकरण पूरा भएको छ । ढाका लगातार तेस्रो खेल जित्दै समूह ‘ए’ को विजेताका रूपमा नकआउट चरण पुगेको हो ।

ढाकाले आइतबार बाबासाहेब भीमराव बिहार विश्वविद्यालयलाई ७ विकेटले पराजित गर्‍यो । ढाकाको विजयले त्रिभुवन विश्वविद्यालयको पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो । ढाकाले ३ र त्रिविले २ खेलमा विजय हात पारेका हुन् । बिहारले १ खेल मात्र जित्न सक्यो भने पूर्वाञ्चल विश्वविद्यालय सबै ३ खेलमा पराजित रह्यो ।

ढाकाले सोमबार हुने पहिलो सेमिफाइनलमा लखनउ विश्वविद्यालयसँग तथा त्रिविले मध्यपश्चिम विश्वविद्यालयसँग खेल्नेछ । समूह ‘बी’ मा मध्यपश्चिमले सबै ३ खेल जितेको थियो भने लखनउले २ खेलमा विजय हात पारेको थियो । काठमाडौं विश्वविद्यालयले १ खेल मात्र जित्न सक्यो भने दिल्ली विश्वविद्यालयले कुनै खेल जित्न सकेन ।

विशालराजले २६ बलमा २ चौका र ३ छक्कासहित ४२, इमरान हासमीले २१ बल खेली २ चौका र १ छक्कासहित २२ र मोहम्मद आदिल आलमले ८ बलमा १ चौका र २ छक्कासहित १९ रन बनाए पनि टस हारेर ब्याटिङमा आएको बिहार निर्धारित २० ओभर खेली १ सय २७ रनमा अलआउट भएको थियो । ढाकाका मोहउद्दिन तारेक र इफ्तिखार हुसैनले २–२ विकेट लिए ।

माहाफिजुल इस्लामले अविजित ७५ रन बनाएपछि ढाकाले १६.५ ओभरमै १ सय २९ रन बनाएको थियो । प्लेयर अफ द म्याच उनले ६० बल खेली ९ चौका र २ छक्का प्रहार गरे । मोहम्मद रहमानले ३३ बल खेली २ चौका र १ छक्काको मद्दतमा ३४ रन बनाए । बिहारबाट विशालराजले २ विकेट लिए । 

कान्तिपुर

Link copied successfully