इटहरीलाई उपाधि

माघ १३, २०८१

कान्तिपुर संवाददाता

Title to Itahari

सुनसरी — आयोजक हाम्रो इटहरी भेट्रान क्लबले पाँचौं आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबलको उपाधि जितेको छ । फाइनल पुगे पनि विराटनगरको टीडब्लु वाईसी भेट्रान क्लबले प्रोटेस्ट हारेपछि उपाधिका प्रतिस्पर्धा गर्ने अवसर पाएको इटहरीले धनकुटाको हाम्रो राजारानी भेट्रान क्लबलाई पेनाल्टी शुटआउटमा ४–३ ले पराजित गरेको हो ।

सेमिफाइनलमा इटहरीलाई २–० ले पराजित गरेको विराटनगरले एउटाको नाममा अर्को खेलाडी खेलाउनुका साथै ४० वर्षभन्दा कम उमेरको खेलाडी खेलाएको पुष्टि भएपछि फाइनल खेल्न अयोग्य घोषित गरिएको थियो । 

इटहरीस्थित जनता बहुमुखी क्याम्पसको मैदानमा शनिबार दुवै टिमले १–१ को बराबरी खेलेपछि सिधै पेनाल्टी शुटआउटबाट निर्णय लिइएको थियो । पेनाल्टीमा इटहरीबाट डेनिम राई, अनुप शेर्पा, हर्कराज गुरुङ र सुरेन्द्र तामाङले गोल गरे ।

कमल बस्नेतको प्रहार खेर गयो । राजारानीबाट कृष्ण शाक्य, सचिन राई र भूपेन लिम्बूले मात्र गोल गरे । मित्र बस्नेतको प्रहार इटहरीका गोलकिपर तुलसी श्रेष्ठले रोके भने सन्तोष बस्नेतको प्रहार पोलमा लागेर फर्कियो । सर्वोत्कृष्ट खेलाडी राजारानीका कृष्ण शाक्य भए ।

सचिन राई फरवार्ड, इटहरीका सुनिल तामाङ गोलकिपर, दिवस राई डिफेन्डर, डेनिम राई मिडफिल्डर र लिलाराम मगर प्रशिक्षकमा उत्कृष्ट भए । म्यान अफ द म्याच इटहरीका वैकल्पिक गोलकिपर तुलसी श्रेष्ठ भए ।

कान्तिपुर

Link copied successfully