धनगढी — एपीएफ क्लबले फाप्ला क्रिकेट मैदानमा शनिबार भएको प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार फाइनलमा एपीएफले घरेलु टोली सुदूरपश्चिमलाई ९ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले १२.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । एपीएफका ममता चौधरी ४४ र कप्तान इन्दु बर्मा १८ रनमा अविजित रहे । राजमती ऐरीले ४ रनमै रनआउट भएकी थिइन् ।
त्यसअघि टस जितेको सुदूरपश्चिमले १८.१ ओभरमा सबै विकेट गुमाएर ६७ रन जोडेको थियो । सुदूरपश्चिमका मनीषा बोहराले १८ र कप्तान बिन्दु रावलले १७ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । एपीएफबाट कविता जोशीले ३, सवनम राई र कप्तान इन्दुले २–२ विकेट लिए । एपीएफले अपराजित हुँदै उपाधि जितेको हो ।
एपीएफले ५ लाख रुपैयाँसहित ट्रफी उचालेको छ । उपविजेता सुदूरपश्चिमले ३ लाख पाएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता भएको हो ।
