पाँचथर — पाँचौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फागुन २४ देखि चैत २ गते सम्म सञ्चालन हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सञ्चालनको जानकारी दिएको हो ।
यस संस्करणको विजेतालाई ११ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण पत्र दिइने आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए । उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा ७० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । नेपाल बाहिरका २, ए डिभिजन क्लब ४, आयोजक १ र वि डिभिजन १ गरी ८ टिमले भाग लिने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचसहित प्लेयर अफ द सिरिज, हाइ स्कोरर, राइजिङ प्लेयर, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकलाई जनही ५ हजार ५ सय रुपैयाँ पुरस्कार दिइने छ ।
प्रतियोगितामा १ सय २८ जना खेलाडी र अफिसियलसहित २ सय जना दर्शकको दुर्घटना बिमा गरिने पनि आयोजकले जनाएको छ ।
