उत्कृष्ट पुनरागमनसँगै एपीएफ फाइनलमा

माघ १२, २०८१

कान्तिपुर संवाददाता

APF finals with a great comeback

काठमाडौँ — एपीएफले नेपाली महिला घरेलु फुटबलमा अहिलेसम्मकै उत्कृष्ट पुनरागमन गर्दै शनिबार एन्फा वुमेन्स लिगको फाइनल यात्रा तय गरेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको क्वालिफायर–वानमा एपीएफले आर्मीलाई २–१ ले पराजित गरेको हो । यो जितकी नायिका रहिन्, फरवार्ड रश्मिकुमारी घिसिङ ।

हारपछि आर्मीले अब क्वालिफायर–टू खेल्नेछ र त्यसमा उसको सामना पुलिसविरुद्ध हुनेछ । रोमाञ्चक खेलमा आर्मीले आठौं मिनेटमा अग्रता लिएको थियो । एपीएफकी गोलरक्षक सावित्री किसनले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई हिमा चौधरीले सजिलै पोस्टका दिशा देखाएकी थिइन् । किसनकै भूलले यो गोल सम्भव भएको थियो ।

यो अग्रतालाई आर्मीले ७८ मिनेटसम्म कायम राखेको थियो र जिततर्फ अग्रसर देखिएको थियो । तर रश्मिले १० मिनेटको अन्तरमा दुई गोल गरिन् र आफ्नो टिमलाई सनसनीपूर्ण जित दिलाइन् । उनले ७८ औं मिनेटमा पहिलो गोल गरिन् र खेल बराबरीमा ल्याइन् भने त्यसपछि ८८ औं मिनेटमा दोस्रो गोल थप्दै एपीएफलाई सनसनीपूर्ण जित दिलाएकी थिइन् । 

कान्तिपुर

Link copied successfully