रेड स्टारलाई फिदिम भेट्रान्स गोल्डकपको उपाधि

माघ १२, २०८१

लक्ष्मी गौतम

Fidim Veterans Gold Cup title for Red Star

पाँचथर — रेड स्टार भेट्रान्स बिर्तामोड पाँचथरको फिदिममा आयोजित दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकपको विजेता बनेको छ । शनिबार सम्पन्न फाइनलमा प्रतिस्पर्धी आयोजक फिदिम भेट्रान्स क्लबलाई ४–२ गोल अन्तरले हराउँदै बिर्तामोड झापा उपाधि विजेता बनेको हो ।

झापाको जितका लागि खेमराज पोखरेल एक्लैले ३ गोल गरे भने अर्को एक गोल बुद्ध चेम्जोङ लिम्बूले गरे ।यता आयोजक फिदिम भेट्रान्सका तर्फबाट सुवास लिम्बू र अशोक लिम्बूले १–१ गोल गरे ।

जितसँगै बिर्तामोडले नगद १ लाख ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता फिदिमले ५० हजार नगद र ट्रफीमा चित्त बुझाएको छ ।

झापाका भूपेन सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद पाँच हजारसहित पुरस्कृत भए । यस्तै झापाका मिलन बस्नेत वेस्ट गोल किपर, फिदिमका अनिल चुडाल बेस्ट डिफेन्स, झापाका प्रेमकृष्ण श्रेष्ठ बेस्ट कोच, झापाका बुद्ध चेम्जोङ वेस्ट फरवार्ड, फिदिमका प्रदेश केसी वेस्ट मिडफिल्ड, झापाका खेमराज पोखरेल हाइ स्कोरर घोषित हुँदै पुरस्कृत भए ।

यस्तै बौद्ध भेट्रान्सका ४६ वर्षीय खड्ग नेम्वाङ ज्येष्ठ खेलाडीका रूपमा पुरस्कृत भए । विजेता टिम र खेलाडीलाई प्रमुख अतिथिको आसनबाट जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले पुरस्कार र ट्रफी प्रदान गरे ।

माघ ९ गते सुरु भएको प्रतियोगिता फिदिम भेट्रान्सले आयोजना गरेको थियो । जहाँ भारतको एक र नेपालका ७ गरी ८ वटा भेट्रान्स टिम सहभागी थिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully