हेटौंडा — नेपाल बुद्धिचाल महासंघले २५ औं पुरुष र १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
आइतबार सुरु भई माघ १९ सम्म हेटौडास्थित होटल सामनामा हुने प्रतियोगिता संयोजक महासचिव धरमबहादुर लामाले बताएका छन् ।
प्रतियोगितामा दुवै विधातर्फ पूर्वनिर्धारित फरम्याटअनुसार सिनियर नेसनल च्याम्पियनसिपका शीर्ष ३ खेलाडी र नेसनल बी वाट छनोट भएका उत्कृष्ट ९ खेलाडीबीच ११ चरणमा प्रतिस्पर्धा हुनेछ ।
त्यसमा पुरुषतर्फ नेपाल च्याम्पियन, दोस्रो र तेस्रो भएका क्रमशः राजन सुवेदी, सुश्रुत दहाल र क्षितिज भण्डारीसहित नेसनल बी वाट छनोट पुरुषोत्तम सिलवाल, आशिष फुयाल, एफएम रुपेश जैसवाल, विनय थापा, सुरोज महर्जन, धिरेन राई, सीएम नवीन तण्डुकार र एफएम रिजेन्द्र राजभण्डारीले प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ सिन्दिरा जोशी, कृतिसरा अधिकारी, विनिता कपालीसहित लक्ष्मी कँडेल, इशा गिरी, शान्ति धिमाल, दानिसा पुरी, सुशीला गुरुङ, पुनम प्रसाईं, एन्जल महर्जन, निहाना श्रेष्ठ र नायुमा मगरबीच प्रतिस्पर्धा हुनेछ ।
विजेता खेलाडीलाई सन् २०२५ मे १० देखि १९ सम्म श्रीलंकामा हुने एसियन जोनल च्याम्पियनसिप, दुबईमा हुने एसियन कन्टिनेन्टल र २०२६ मा उज्वेकिस्तानमा हुने चेस ओलम्पियाडमा सहभागी गराइने छ ।
राष्ट्रिय प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय आर्बिटर यज्ञप्रसाद पन्तलाई प्रमुख निर्णायकको जिम्मेवारी दिइएको छ भने फिडे आर्विटर सोराज ताम्राकार, एफए मिसन दहाल, एफए सन्दीप धिमिरे र एनए रमिला पोखरेलको टिम खटिनेछ ।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले महासंघले आयोजना गर्ने आधिकारिक प्रतियोगिता अंग्रेजी क्यालेन्डरअनुसार डिसेम्बरसम्म सम्पन्न गर्ने जानकारी दिए ।
बुद्धिचाल महासंघले राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न अनुमानित खर्च २४ लाख ५० हजार हुने जनाएको छ । बागमती खेलकुद विकास परिषद् तथा स्थानीय तहसँगको सहकार्यमा प्रतियोगिता गर्न लागेको जनाएको छ ।
