धनगढी — धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ र घरेलु टोली सुदूरपश्चिमबीच फाइनल प्रतिस्पर्धा हुने भएको छ । सुपर फोरअन्तर्गत शुक्रबार जित निकाल्दै दुबै टोली फाइनलमा पुगेका छन् ।
अपराजित एपीएफ ४ अंकसहित फाइनल पुगेको हो । एक खेलमा जित र एकमा पराजित सुदूरपश्चिम २ अंकसहित उपाधिसामु पुगेको थियो । समान २ अंकमा रहेका बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब भने रनरेट कमजोर हुँदा फाइनल पुग्न सकेनन् ।
शुक्रबार पहिलो खेलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी आर्मीलाई ६९ रनले पराजित गरेको छ । फाप्ला मैदानमा १ सय १६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित १७ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमात्रै बनाउन सक्यो । राधिका पुजाराले १७ र कप्तान लक्ष्मी साउदले १० रनबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एपीएफका रेखा रावलले ४ विकेट, सवनम राईले २, कप्तान इन्दु बर्माले १ विकेट लिए । टस हारेर ब्याटिङ निम्तो पाएको एपीएफले खराब मौसमका कारण १७ ओभरमा छोट्याइएको खेलमा ३ विकेट गुमाएर १ सय १५ रन बनायो । राजमति ऐरीले ३५, कविता जोशीले ३४ र कप्तान इन्दु बर्माले अविजित १८ रन बनाए । आर्मीका सुस्मिता भुसालले २ र ईश्वरी विष्टले १ विकेट लिए ।
शुक्रबारै सुपर फोरको अन्तिम खेलमा सुदूरपश्चिमले बागमतीलाई ३० रनले पराजित गरेको थियो । १ सय १३ रनको लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा सबै विकेट गुमाएर ९२ रनमा समेटियो । यशोदा विष्टले ३० र हेलिसा गुरुङले २३ रन बनाए । सुदूरपश्चिमका कविता कुँवर र करिश्मा थापाले २–२ तथा आशिका महरा र रितु कनौजियाले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । रितु कनौजियाले ३४, मनीषा बोहराले १६ र कविता कुँवरले १३ रन बनाए । बागमतीबाट मनीषा उपाध्याय र सोनु खड्काले ३–३ तथा विपिशा शाहीले १ विकेट लिए । एपीएफ र सुदूरपश्चिमबीचको फाइनल शनिबार फाप्ला मैदानमै हुनेछ ।
