चौथो प्रोटिन रन हाफ म्याराथन दौड : सन्तोषी र राजन च्याम्पियन

माघ १२, २०८१

ध्रुव तुलाधर

4th Protein Run Half Marathon Race: Santoshi and Rajan Champion

काठमाडौँ — धादिङकी धाविका सन्तोषी श्रेष्ठले राइट टू प्रोटिन रन हाफ म्याराथनको उपाधि जितेकी छन् । शनिबार दशरथ रंगशालामा सम्पन्न चौथो संस्करणको प्रतियोगितामा सन्तोषीले तेस्रोपटक उपाधि चुमेकी हुन् ।

उनले सहभागिता जनाएका सबै संस्करणमा उपाधि जितेकी छन् । सन्तोषी दोस्रो संस्करणमा सहभागी थिइनन् ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाया विजेता भएका छन् । राजनले तेस्रो सहभागितामा पहिलो उपाधि चुमेका हुन् । उनी पहिलो संस्करणमा चौथो र दोस्रोमा दोस्रो भएका थिए । गत संस्करणका विजेता दीपक अधिकारीले भने यसपल्ट १० किमिमा प्रतिस्पर्धा गरेका थिए ।

सन्तोषीले भाग नलिएको दोस्रो संस्करणमा फुलमती राना विजेता भएकी थिइन् । निर्धारित २१ किलोमिटर दूरी सागकी स्वर्ण विजेता ओलम्पियन सन्तोषीले १ घण्टा २० मिनेट ४८ सेकेन्डमा पूरा गरिन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा २२ मिनेट ५१ सेकेन्डबाट दोस्रो र सागकी म्याराथन रजत विजेता एपीएफकी धाविका पुष्पा भण्डारीले १ घण्टा २४ मिनेट २१ सेकेन्डबाट तेस्रो स्थान हासिल गरिन् ।

आर्मीकी निर्मला केसी चौथो र नेपाल पुलिसकी सुमित्रा चौधरी पाँचौं स्थानमा दौड पूरा गर्न सफल भए ।

पुरुषतर्फ राजनले १ घण्टा ६ मिनेट १० सेकेन्डमा दौड जितेका थिए । उनीभन्दा ५ सेकेन्डले पछाडि परेका आर्मीकै खडकबहादुर खड्काले १ घण्टा ६ मिनेट १५ सेकेन्डबाट दोस्रो भए । १ घण्टा ६ मिनेट २० सेकेन्डबाट वाहोमका जुलियस मुरलुकी तेस्रो भए । आर्मीका मुकेश पाल र सुशीलकुमार शाही चौथो र पाँचौं स्थानमा विजयी भए ।

पुरुष/महिला दुवैमा शीर्ष ५ स्थानका विजताले क्रमशः १ लाख ५० हजार, १ लाख, ७० हजार, ५० हजार र ३० हजार रुपैयाँ पुरस्कार पाए ।

नेपाल भेटेरिनरी संघद्वारा आयोजित प्रतियोगितामा आर्मीका सञ्जय श्रेष्ठले पुरुष खुला १० किलोमिटर दौड जिते । उनले ३० मिनेट १०.०७ सेकेन्ड लगाए । दोलखाका मिङ्मार शेर्पा (३१ मिनेट ०८.४० सेकेन्ड) दोस्रो र पूर्वहाफ म्याराथन विजेता दीपक अधिकारी (३१ मिनेट १७.२९ सेकेन्ड) तेस्रो भए । आर्मीका रामजी बस्नेत चौथो र एपीएफका सन्तोषविक्रम विष्ट पाँचौं भए । पहिलोले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार पुरस्कार जिते ।

महिला ५ किमि दौडमा एपीएफकी फूलमती राना पहिलो भइन् । दोस्रो संस्करणकी हाफ म्याराथन विजेता उनले २३ मिनेट १३ सेकेन्डबाट दौड जितिन् । एपीएफका आशा रावत दोस्रो र दीपा परियार तेस्रो भए । आशाले २३ मिनेट ३७ सेकेन्ड र दीपाले २३ मिनेट ४५ सेकेन्ड लगाए । जुम्लाकी राज्यलक्ष्मी रावल चौथो र आर्मीकी रेखा लिम्बू पाँचौं भए ।

विद्यालयतर्फ (कक्षा १२ सम्म) ५ किमि ब्वाइजमा लोकेन्द्र बोहरा विजेता भए । उनले २१ मिनेट २०.८६ सेकेन्ड लगाए । २१ मिनेट २३.२७ सेकेन्डसहित कृष्णबहादुर परियार दोस्रो र २१ मिनेट २५.१४ सेकेन्डसहित हस्त सुनार तेस्रो बने । सम्राट कोयाहाङ लिम्बू चौथो र पुकारजंग बस्नेत पाँचौं भए ।

ह्विलचेयर पुरुषमा रमेश खत्री, प्रेमबहादुर विक, दीपक आलेमगर, विष्णुपुकार श्रेष्ठ र अर्जुन दोङ क्रमशः शीर्ष ५ स्थानमा विजयी भएका छन् । महिलामा ऐश्वर्यकुमारी कुमाल पहिलो, यानी झाक्री मगर दोस्रो, रजनी राई तेस्रो, हिउकला साउद चौथो र मीना मगर पाँचौं भए । स्कुल र ह्विलचेयर स्पर्धामा शीर्ष ५ स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विद्यालयतर्फ (कक्षा १२ सम्म) गर्ल्स ३ किमिमा अस्मिता भुजेल १७ मिनेट ३०.६७ सेकेन्डबाट विजेता भइन् । १७ मिनेट ५१.५५ सेकेन्ड समयमा नारायणी भण्डारी दोस्रो तथा १८ मिनेट ००.०५ सेकेन्डमा भगवती खड्का तेस्रो भए । पूजा पछाईं चौथो र पुष्पा शर्मा पाचौं भए । पहिलो हुनेले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले ५ हजार र पाचौंले २ हजार ५ सय पुरस्कार पाए ।

विजेतालाई कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र, राइट टु प्रोटिन हाफ म्याराथनका संयोजक डा. सितलकाजी श्रेष्ठलगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा करिब ८ हजारको सहभागिता रहेको संयोजक श्रेष्ठले जनाए । सबै दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई विभिन्न भागको फन्को मार्दै दशरथ रंगशालामै आएर टुंगिएको थियो । ८ स्पर्धाबाहेक बालबालिकाको रन फर फनमा प्रतिस्पर्धा भएको थियो ।

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully