काठमाडौँ — संकटा क्लबले बिहीबार सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको छ । यसका लागि संकटाले दशरथ रंगशालामा भएको खेलमा लिग च्याम्पियन चर्च ब्वाइजलाई ३–० ले पराजित गरेको थियो ।
संकटाका लागि अबेक रिचार्डले दुई र चन्दन दासले एक गोल गरेका थिए ।
रिचार्डले २१ औं मिनेटमा पहिलो गोल गरेपछि ७० औं मिनेटमा दोस्रो गोल थपेका हुन् । उनले चर्च ब्वाइजको बक्सबाट सजिलै पहिलो गोल गरे । व्यक्तिगत दोस्रो गोलका लागि उनले क्रसपास उपयोग गरेका थिए । चन्दनले भने ७३ औं मिनेटमा तेस्रो गोल गरे । यो गोलमा विपक्षी गोलरक्षक बढी दोषी रहे ।
अब सेमिफाइनलमा संकटाले मछिन्द्र र एपीएफबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिता विजेताले २६ लाख पुरस्कार जित्नेछ ।
