एनभीएलको तयारी तीव्र

माघ ११, २०८१

कान्तिपुर संवाददाता

Preparation for NVL intensified

काठमाडौँ — क्रिकेट, फुटबल, कबड्डीको फ्रेन्चाइज लिग भइरहँदा पुरुष भलिबल लिग आयोजनाको तयारीमा पनि तीव्रता दिइएको छ । नेपालको व्यावसायिक घरना केडिया ग्रुपले पुरुष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लिग गर्दै छ । नेपालको राष्ट्रिय खेल भलिबलको फ्रेन्चाइज लिग आयोजनाका लागि समर्थक उत्साहित छन् । 

केडिया ग्रुपले लिगमा ‘उचाइको नयाँ उडान’ भन्ने स्लोगन दिएको छ । स्लोगनजस्तै भलिबललाई पनि नयाँ उचाइ दिने लक्ष्यसहित तयारी थालिएको जनाइएको हो ।

नेपाली खेलकुदमा पछिल्ला समय एकपछि अर्को फ्रेन्चाइज लिग भइरहेको छ । क्रिकेटमा विश्व स्तरीय स्टार खेलाडी नेपालमा भित्रिँदा सर्वत्र चासो बढेको थियो । नेपाली खेलकुद समर्थकलाई ध्यानमा राखेर भलिबल लिगलाई रोमाञ्चकता दिने प्रयासमा केडिया ग्रुप छ । पहिलोपल्ट हुन लागेकाले सुरुआत राम्रो दिने लक्ष्यमा रहेको आयोजकले जनाएको छ । 

यसअघि एनभीएलको लोगो सार्वजनिक भइसकेको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो अनावरण र स्लोगन सार्वजनिक गरेका थिए । एनभिएलमा ६ फ्रेन्चाइज टोलीले खेल्ने टुंगो लागिसकेको छ । हरेक फ्रेन्चाइज टोलीको नाम भलिबल लोकप्रिय रहेको क्षेत्रलाई प्राथमिकता राख्ने योजनामा केडिया ग्रुप छ । सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने लिगका शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल हुनेछ । 

नेपाल भलिबल संघले केडिया ग्रुपसँग सात वर्षका लागि एनभीएल आयोजना दिनेगरी सम्झौता गरेको छ । केडिया ग्रुपका सिइओ अश्विन केडियाले छिटै मिति घोषणासँगै अन्य कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् । उनका अनुसार मार्की प्लेयर घोषणा र स्थानीय खेलाडीको आबद्धता छिटो टुंगो लगाइने छ । तीन विदेशी खेलाडसहित ट्यालेन्ट हन्टमा सम्भावना बोकेका खेलाडी टिममा राख्ने उनले बताएका छन् ।

कान्तिपुर

Link copied successfully