पाँचथर — दुधे भेट्रान्स झापा र गोरख भेट्रान्स बिर्तामोड फिदिममा भइरहेको दोस्रो फिदिम आमन्त्रण गोल्डकप फुटबलको सेमिफाइनल पुगेका छन् ।
बिहीबार दुधेले स्काइ भेट्रान्स धरानलाई टाइब्रेकरमा ४–२ ले हराएको छ । गोरखले रेडस्टार भेट्रान्स इलामलाई ३–० गोलले हरायो । दुधे र स्काइले २–२ गोलको खेलेपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो ।
टाइब्रेकरमा दुधेबाट देवीप्रसाद तुम्बापो, सन्तोष नेम्वाङ, सन्देश देवान र बालचन्द्र जबेगूले गोल गरे भने धरानबाट मनीष मगर र सुरेश राई गोल गर्न सफल भए । गोरखको जितमा बुद्वराज लिम्बूले २ र अंगुर खड्गीले १ गोल गरे । बुद्वराज प्लेयर अफ द म्याच भए । शुक्रबार सेमिफाइनल खेल हुनेछ ।
