समूह ‘डी’ बाट अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड ‘सुपर सिक्स’ मा
काठमाडौँ — नेपालले आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटमा लगातार तेस्रो पराजय बेहोरेको छ । पहिलो पटक महिला युवा विश्वकपमा प्रतिस्पर्धा गरिरहेको नेपाललाई बुधबार अस्ट्रेलियाले ८३ रनले हरायो । यो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
पहिलो दुई खेलमा क्रमशः बंगलादेशसँग ५ विकेट र स्कटल्यान्डसँग १ विकेटले पराजित भएपछि नेपालको ‘सुपर सिक्स’ मा पुग्ने सम्भावना कठिन बनिसकेको थियो । समूह ‘डी’ बाट अस्ट्रेलिया सबै तीन खेलमा जितेर ६ अंक, बंगलादेश ४ र स्कटल्यान्ड २ अंक बटुल्दै ‘सुपर सिक्स’ मा पुगेका छन् ।
नेपालले अब प्लेअफका लागि वेस्ट इन्डिज वा आयोजक मलेसियाको सामना गर्नेछ । समूह ‘ए’ मा वेस्ट इन्डिज र मलेसिया पहिलो दुई खेलमै पराजित भएका थिए । बिहीबार यी दुई टोलीबीच हुने खेलको विजेता टोली सुपर सिक्समा पुग्ने छ भने पराजित टोलीले नेपालसँग खेल्नेछ ।
मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ३९ रन बनाएको थियो । नेपालबाट कप्तान पूजा महतो मैदानमा छाएकी थिइन् । उनले ओपनरद्वय केट पेली र इन्स म्याकोइन तथा विपक्षी कप्तान लुसी ह्यामिल्टनलाई आउट गरेपछि अस्ट्रेलियाले पहिलो ३ ओभरमै ३ विकेट गुमाइसकेको थियो ।
तर, काइमोही ब्रे र इलेनर लारोसाले चौथो विकेटमा १२.१ ओभरभित्र ७२ रनको साझेदारी गरेपछि अस्ट्रेलियाले विशाल स्कोर बनाएको थियो । पेलीले सर्वाधिक ४५ रन बनाइन् । उनले ३४ बल खेल्दै समान ३ चौका र छक्का प्रहार गरिन् । लारोसाले ३९ बल खलेर ३ चौकासहित ३१ रन बनाइन् । हसरत गिल २१ बलमा ५ चौकासहित ३० र चलोई एन्सवर्थ ९ बलमा समान एक चौका र छक्का प्रहार गरी १६ रनमा अविजित रहिन् ।
नेपालबाट पूजाले ३ विकेट लिँदा ४ ओभरमा ३१ रन खर्चेकी थिइन् । उनले एक क्याच पनि लिएकी थिइन् । सिमाना केसीको नाममा दुई विकेट रह्यो । सिमानाले ४ ओभरमा ३५ रन खर्चिन् । अर्को एक विकेट रिया शर्माले लिइन् । उनले ४ ओभरमा २८ रन दिएकी थिइन् ।
जबाफमा नेपालले ८ विकेट गुमाई ५६ रनमात्र बनाउन सक्यो । कप्तान पूजाले मात्र दोहोरो स्कोर बनाउन सकिन् । उनले ४२ बल खेलिन् । तर कुनै बाउन्ड्री प्रहार गर्न सकिनन् । सना प्रविन ८, सावित्री धामी ७, सिमाना ६, एलिसा यादव ९, तृष्णा विश्वकर्मा १ रनमा आउट भए । ज्योत्सनिका मरासिनी र कृष्मा गुरुङ कुनै रन बनाउन सकेनन् । सावित्री, सिमाना र एलिसाले १–१ चौका प्रहार गरेका थिए । अस्ट्रेलियाका हसरत गिल, जुलियट मोर्टोन र लिलीले समान २ विकेट लिए ।
