काठमाडौँ — ज्ञान संस्कार स्कुलको आयोजनामा प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबार सुरु हुँदै छ ।
जुनियर ब्वाइजमा २४ र जुनियर गर्ल्समा १६ टिमको सहभागिता रहने बिहीबार पत्रकार सम्मेलनमा ज्ञान संस्कारकी प्रिन्सिपल निलम बानियाँ बडूले जानकारी गराइन् । ब्वाइजमा ८ समूह तथा गर्ल्समा ४ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ । ब्वाइजमा प्रत्येक समूहबाट शीर्ष २ टोली प्रिक्वाटरफाइनलमा पुग्नेछन् । गर्ल्सको हरेक समूह विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्नेछन् ।
विधागततर्फ मोस्ट भ्यालुएबल प्लेयर, उत्कृष्ट ‘थ्री प्वाइन्टर’ र सर्वाधिक स्कोरकर्तालाई पुरस्कृत गरिनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाा खर्च हुने प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जानकारी दिए । प्रतियोगितामा कक्षा ७ सम्म अध्ययनरत विद्यार्थीले मात्र सहभागिता जनाउन पाउनेछन् ।
प्रिन्सिपल बडूले भनिन् ‘अहिले हाम्रो विद्यालयमा कक्षा ७ सम्म पढाइ हुन्छ । त्यसैले हामीले जुनियरको स्पर्धा मात्र समावेश गरेका हौं । हरेक वर्ष हामी कक्षा पनि बढाउँदै जान्छौं । त्यसै अनुरुप प्रतियोगिताको संरचना पनि परिवर्तन गर्दै जानेछौं ।’
प्रतियोगिताका खेल आयोजकको आफ्नै कोर्टमा खेलाइने छ । प्रतियोगितामा फाइनल माघ १८ सम्म चल्नेछ ।
