मध्यपश्चिम र बिहारको विश्वविद्यालय विजयी

माघ ९, २०८१

कान्तिपुर संवाददाता

University of Midwest and Bihar won

काठमाडौँ — मध्यपश्चिम विश्वविद्यालय र भारतको बिहारको बाबासाहेव भीम राव अम्बेडकर विश्वविद्यालयले बुधबार जय नेपाल कप ट्वान्टी–२० विश्वविद्यालय क्रिकेटमा विजय हात पारेका छन् ।

मध्यपश्चिमले काठमाडौं विश्वविद्यालयलाई १ सय ३४ रन र अम्बेडकरले पूर्वाञ्चल विश्वविद्यालयलाई १ सय ७८ रनले पराजित गरे । टस जितेर ब्याटिङ रोजेको मध्यपश्चिमले कीर्तिपुरस्थित त्रिवि मैदानमा निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ९२ रन बनायो । रवीन्द्रजंग शाही १२, निश्चल रावल १८ र दीपकप्रसाद डुम्रे ४ रनमा आउट भएपछि राजकुमार शाहले सर्वाधिक ६२ रन बनाए । उनले ३८ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरे ।

मनीष थापा १२, सुवास भण्डारी २१ बलमा समान २ चौका र छक्कासहित ३९, दिनेश अधिकारी २, दिवस पुन १० रनमा आउट भए । विपिन खत्री १३ बल खेलेर १ चौका र २ छक्का प्रहार गरी अविजित २७ रन बनाए । केयूका सुप्रिम बस्नेतले ३, ऋषभ खतिवडाले २, दिवश सुवेदी र कप्तान इशान पाण्डेले १–१ विकेट लिए ।

जबाफमा काठमाडौं विश्वविद्यालय १४.२ ओभरमा ५८ रनमा अलआउट भयो । दिवश सुवेदीले २४ बलमा ३ चौका र २ छक्का प्रहारसहित ३१ बनाए । इशान १० रन बनाई आउट भए । मध्यपश्चिमबाट विपिनले ५ विकेट लिए । उनले ४ ओभरमा ८ रनमात्र खर्चे । रवीन्द्रले २ तथा दिवस पुन र सुवास भण्डारीले १–१ विकेट लिए ।

टस हारेर ब्याटिङमा आएको अम्बेडकरले ६ विकेट गुमाई २ सय १२ रनको विशाल योगफल बनायो । ओपनर चन्द्र प्रकाशले ४९ बलमा ७ चौका र ५ छक्कासहित ७१, विशाल राजले १७ बलमा ५ चौका र ३ छक्कासहित अविजित ४४, आदर्श कुमारले १८ बलमा ३२, सचिन कुमारले २५ र इमरान हासमीले १४ रन बनाए । पूर्वाञ्चलबाट अमितकुमार मण्डलले ३, नितेश यादव, धिरज यादव र अभिषेक मण्डलले १–१ विकेट लिए ।

पूर्वाञ्चल ११.४ ओभरमा केवल ३४ रनमा अलआउट भयो । टोलीबाट कसैले दोहोरो स्कोर बनाउन सकेनन् । अमितले ९ र अभय मण्डलले ७ रन बनाए । अम्बेडकरबाट रोहन कुमारले ४, विशालले ३, हासमीले २ र आदिल अलामले १–१ विकेट लिए । 

कान्तिपुर संवाददाता

Link copied successfully