ललितपुरमा पुष्पराज स्मृति टेबलटेनिस हुने

माघ ९, २०८१

कान्तिपुर संवाददाता

Pushparaj Smriti Table Tennis will be held in Lalitpur

काठमाडौँ — खोल्चा पुखु खेलकुद समितिको आयोजनामा प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगिता माघ २४ देखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष एवं प्रतियोगिता सह–संयोजक नदिमरत्न शाक्यले बताए । पुरुष/महिला सिंगल्स, भेट्रान ४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि पुरुष सिंगल्समा प्रतिस्पर्धा हुनेछ । ललितपुर महानगरपालिका वडा ११ का खेलाडी मात्र खेल्न पाउने गरी यू–१६ मिक्स युथ स्पर्धा राखिएको छ ।

प्रतियोगितालाई ललितपुर महानगरपालिका वडा ११ ले मुख्य प्रायोजन गर्ने वडा ११ का अध्यक्ष एवं प्रतियोगिता संयोजक अरोजकुमार खड्गीले बताए । प्रतियोगिता गर्न करिब ५ लाख रुपैयाँ खर्च हुनेछ ।

कुल पुरस्कार राशि २ लाख रुपैयाँ रहेको स्पर्धामा पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ पुरस्कार हात पार्नेछन् । बाँकी ४ स्पर्धामा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले २ हजार ५ सय पुरस्कार पाउने छन् ।

रात्रिकालीन प्रतियोगितालाई इलाभेन स्टार क्लब, इखाछें स्पोर्ट्स र ललितपुर जिल्ला टेबलटेनिस संघले सहयोग गर्नेछन् । स्पिन इभेन्टको व्यवस्थापन हुने तीनदिने प्रतियोगिताका खेल शंखमूलस्थित इलेभन स्टार क्लबमा हुनेछ ।

ई. पुष्पराज शाक्यको गत वर्ष निधन भएको थियो । ललितपुरमै भएको पाँचौं मेयर कप टेबलटेनिसको भेट्रान स्पर्धामा खेल्ने क्रममै हृदयघातका कारण उनको निधन भएको थियो ।

कान्तिपुर

Link copied successfully