प्रोटिन हाफ म्याराथन दौड शनिबार, आठ विधामा प्रतिस्पर्धा

माघ ९, २०८१

कान्तिपुर संवाददाता

Protein Half Marathon Race Saturday, competing in eight categories

काठमाडौँ — यही शनिबार हुने चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनमा ८ हजारभन्दा बढीले भाग लिने आयोजकको अपेक्षा छ । प्रतियोगिताको तयारीबारे बुधबार पत्रकार सम्मेलनमा आयोजक नेपाल भेटेरिनरी संघका पूर्व अध्यक्ष एवं प्रतियोगिता संयोजक सितलकाजी श्रेष्ठले यस हाफ म्याराथनमा ८ हजारभन्दा बढीले भाग लिने अपेक्षा गरिएको बताए ।

बुधबारसम्म ३ हजारभन्दा बढीले आवेदन गरिसकेको बताउँदै संयोजक श्रेष्ठले अझै दर्ता बाँकी रहेकाले विगतका वर्षभन्दा बढी सहभागिता रहने बताए ।

पुरुष/महिलाको हाफ म्याराथन, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीको ५ किलोमिटर छात्र र ३ किमि छात्र, फरक क्षमता भएका व्यक्तिका लागि ह्विलचेयर पुरुष तथा महिला तथा बालबालिकाका लागि रन फर फन विधामा प्रतिस्पर्धा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई थापाथली, माइतीघर, बानेश्वर, कोटेश्वर, भक्तपुरको सल्लाघारी पुगेर सोही रुट हुँदै रंगशालामै आएर हाफ म्याराथन दुरी सकिनेछ । १० किमि कोटेश्वरसम्म, ५ किमि सिभिल अस्पताल बानेश्वर, ३ किमि बिजुलीबजार, ह्विलचेयर रेस माइतीघर मण्डला पुगेर सोही हुँदै रंगशाला आएर टुंगिने रेस डाइरेक्टर आरके विष्टले जानकारी गराए ।

सहभागिता र पुरस्कार राशिका हिसाबमा यो प्रतियोगिता नेपालकै ठूलो हाफ म्याराथन स्पर्धा रहेको संयोजक श्रेष्ठको दाबी थियो । प्रतियोगिताको कुल पुरस्कार राशि करिब १८ लाख रुपैयाँ रहेको छ । गत संस्करणमा ओलम्पियन सन्तोषी श्रेष्ठ र दीपक अधिकारी विजेता बनेका थिए ।

आयोजकले महिला र पुरुषलाई समान पुरस्कार व्यवस्था गरेको छ । हाफ म्याराथनमा च्याम्पियनले एक लाख ५० हजार पाउनेछन् । दोस्रोले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौंले ३० हजार पुरस्कार पाउने छन् । १० किमि खुला दौडमा विजेताले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । महिलामा ५ किमि र स्कुलतर्फ छात्र ५ किमिमा शीर्ष तीन स्थानमा विजयी हुनेलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार प्रदान गरिने छ । चौथोले १० हजार र पाँचौंले ५ हजार प्राप्त गर्नेछन् । स्कुलतर्फ ३ किमिका शीर्ष ५ स्थानका विजेताले क्रमशः २० हजार, १५ हजार, १० हजार, ५ हजार र २५ सय पुरस्कार पाउनेछन् ।

ह्विलचेयरमा पनि पुरस्कार रहेको छ । महिला र पुरुषमा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार पुरस्कार रहेको छ ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने म्याराथनमा करिब ५ सय स्वयंसेवक परिचालन गरिने रेस डाइरेक्टर विष्टले जानकारी गराए । नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडीका लागि तयारीमा यो प्रतियोगिता सहयोगी बन्दै आएको बताए ।

प्रतियोगिताका ब्रान्ड एम्बासडर अभिनेता सरोज खनालले भने, ‘राष्ट्र समृद्ध हुन त्यो देशको नागरिक पनि स्वस्थ हुनुपर्छ । स्वस्थ हुन खानपान चाहिन्छ । त्यसैमध्ये हाम्रो शरीरलाई कति प्रोटिन आवश्यक छ भन्ने जनचेतनामूलक सन्देश यो प्रतियोगितामार्फत दिए खोजेका छौं ।’

प्रतियोगितालाई यूसेकको मुख्य प्रायोजनमा पशु सेवा विभाग र नेपाल दाना उद्योग संघको विशेष सहयोग रहने जनाइएको छ । पत्रकार सम्मेलनमा हाफ म्याराथनको जर्सी पनि सार्वजनिक गरिएको थियो ।

कान्तिपुर

Link copied successfully