खुल्ला व्यास नगर महिला हाफ म्याराथन प्रतियोगिता हुने

माघ ९, २०८१

सम्झना रसाइली

Open Vyas Nagar Women's Half Marathon Competition

तनहुँ — जिल्लाको व्यास नगरपालिकाले चौथो खुल्ला व्यास नगर महिला हाफ म्याराथन–२०८१ प्रतियोगिता गर्ने भएको छ । महिलालाई खेलकुदसँग जोड्न र खेलकुदमार्फत पालिकाको पर्यटकीय गतिविधि चलायमान गराउने उद्देश्यले नगरपालिकाले ७८ औं अवसरमा सहिद दिवसको उपलक्ष्यमा माघ १६ गते प्रतियोगिता गर्न लागेको हो ।

वेदव्यासको जन्मभूमि, पराशर ऋषिको तपोभूमि दमौली र ऐतिहासिक स्थल तनहुँसुरको खेलकुदका माध्यमबाट प्रचारप्रसार गर्ने उद्देश्यका साथ नगरपालिकाले हाफ म्याराथन प्रतियोगिता गर्दै आएको मूल समारोह समिति संयोजक एवं व्यास नगर उपप्रमुख इन्दिरा दरैले बताइन् । उनले भनिन्, ‘अघिल्ला वर्षहरुमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरिने महिला म्याराथन प्रतियोगिता यो वर्ष सहिद दिवसको अवसरमा आयोजना गर्न लागिएको हो ।’ 

धार्मिकरुपमा परिचित व्यास गुफा र ऐतिहासिकस्थलको रुपमा परिचित तनहुँसुरलाई खेलको माध्यमबाट जोड्ने उद्देश्यसहित म्याराथन गर्ने निर्णय गरिएको व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘अघिल्ला वर्षहरुमा सहिद दिवसको अवसरमा व्यास अल्ट्रा म्यारथन र अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा खुला महिला हाफ म्याराथन प्रतियोगिता गर्दै आएका थियौ । यो वर्षबाट यी दुई प्रतियोगिता आलोपालो गर्ने निर्णय गरिएको छ ।’

व्यास गुफाबाट सुरु हुने प्रतियोगिता जिल्ला प्रहरी कार्यालय पछाडिबाट न्यूरोड भेटघाट चोक हुँदै गणेशमान चोक, सत्यवती मावि, मालपोतलाइन, सफा सडक हुँदै पृथ्वी राजमार्गको तालघरे, रानीगाउँ, दरैपाधेरा, पराजुलीचोक, बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, पत्यारथोक, गंगाथोक, चण्डीथान हटिया–धानगोदाम हुँदै व्यास–११ स्थित ऐतिहासिकस्थल तनहुँसुर दरबारमा पुगेर टुंगिनेछ ।

२१ किलोमिटर दूरीको प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार ८१, द्वितीयलाई ३१ हजार ८१, तृतीयलाई २१ हजार ८१ र सान्त्वना पुरस्कार ५ जनालाई जनही ११ हजार ८१ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने खेलकुद समितिका संयोजक एवं व्यास नगरपालिका–६ का वडाध्यक्ष जीवन गुरुङले बताए । उनका अनुसार प्रतियोगिताका लागि पालिकाले करिब ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully