म्याग्दी — सदरमुकाम बेनीमा सम्पन्न पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिका पहिलो भएका छन् । मंगलबार सम्पन्न पुरुष भलिबलको फाइनल खेलमा बेनी नगरपालिकाले मालिका गाउँपालिलाई ३–१ सेटमा पराजित गरी उपाधि चुमेको हो ।
प्रतियोगितामा बेनी नगरपालिकाले २५–२३, ३०–२८, १६–२५ र तेस्रो सेट २५–१६ सेटमा मालिका गाउँपालिकालाई दोस्रो स्थानमा सीमित गरेको थियो ।
त्यसैगरी महिला भलिबलमा अन्नपूर्ण गाउँपालिकाले मंगला गाउँपालिकालाई ३–१ सेटमा पराजित गरी महिला भलिबलमा पहिलो भएको छ । प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाले मंगला गाउँपालिकाविरुद्ध २५–२२, २२–२५, २५–२० र २५–१६ सेट जित निकालेको थियो ।
प्रतियोगितामा पहिलो हुने पुरुष भलिबल टिमले १ लाख ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् ।
महिला भलिबलतर्फ पहिलो हुने टिमले ७१ हजार नदगरसहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । महिला र पुरुष भलिबल खेलमा उस्तै समय तथा आर्थिक लगानी तथा दर्शकको आर्कषण हुने भए पनि महिला र पुरुष भलिबल प्रतियोगिताहरूमा पुरस्कार राशिमा भने विभेद हुने गरेको छ ।
