सूर्य नेपाल वेस्टर्न ओपन बुधबारदेखि

माघ ८, २०८१

कान्तिपुर संवाददाता

Surya Nepal Western Open from Wednesday

पोखरा — सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन बुधबार पोखरामा सुरु हुँदै छ । पोखराको हिमालयन गल्फ कोर्समा २५औं संस्करणको प्रतियोगिता हुन लागेको हो ।

५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गल्फरले दाबेदारी प्रस्तुत गर्नेछन् । माछापुच्छ्रे हिमालको मनमोहक दृश्य र विजयपुर नदीको किनारमा अवस्थित आकर्षक हिमालयन गल्फ कोर्सलाई कठिन कोर्स मानिन्छ । त्यसैले प्रतिस्पर्धी गल्फरसँगै गल्फ कोर्सको चुनौती पनि खेलाडीमा रहनेछ । यो कोर्सलाई गल्फ डाइजेस्टले संसारकै रोमाञ्चक गल्फ कोर्समध्ये एक भनेर मूल्यांकनसमेत गरेको थियो ।

आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले यस संस्करणदेखि कुल पुरस्कार राशि वृद्धि गरेर ८ लाख ८२ हजार रुपैयाँ बनाएको छ । विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रो हुनेले ७२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । शीर्ष २१ मा पर्ने गल्फरहरूले नगद हात पार्नेछन् । सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा ३६ होलको समाप्तिमा कट लागू हुनेछ । शनिबार प्रो–एम प्रतियोगिता हुनेछ ।

डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीसगै नीरज तामाङ, धन थापा, सञ्जय लामा र जयराम श्रेष्ठलाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ । गत संस्करण रेकर्ड स्कोरमा उपाधि जितेका भुवनले यो सिजन कुनै पनि उपाधि जित्न सकेका छैनन् । उनलाई यो सिजन पहिलो उपाधि जित्ने चुनौतीसमेत रहनेछ । नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य र सूर्य नेपाल सेन्ट्रल ओपनका विजेता राहुल बिकेले भने यस पटक सहभागिता नजनाउने भएका छन् ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा ३६ होल समाप्तिमा कट लागू हुनेछ । शनिबार प्रो–एम प्रतियोगिता हुनेछ । 

कान्तिपुर संवाददाता

Link copied successfully