धनगढी — फाप्ला क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार बागमती प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १४ रनले पराजित गरेको छ । ८२ रनको लक्ष्य पछ्याएको आर्मी १३.२ ओभरमै ६७ रनमा समेटियो ।
अञ्जली विश्वकर्माले १४, निग्मा तामाङले १३ र कप्तान लक्ष्मी साउदले १० रन बनाए । बागमतीबाट सोनु खड्का, कञ्चन श्रेष्ठ र मनीषा उपाध्यायले २–२ तथा संस्कृति फुयाल र विपाशा शाहीले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले हुस्सुका कारण छोट्याइएको १५ ओभरमा २ विकेट गुमाई ८१ रन जोड्यो । यशु पाण्डेले २५, कप्तान कञ्चन श्रेष्ठले २४ र यशोदा विष्ट २० रन बनाए । आर्मीबाट ईश्वरी विष्ट र लक्ष्मी साउदले १–१ विकेट लिए ।
दोस्रो खेलमा कोशीले मधेश प्रदेशलाई ४७ रनले हरायो । १ सय ७ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेट गुमाई ५९ रन बनायो । प्रतिमा साहले १७ रनबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशीका कप्तान रुबिना क्षेत्रीले ३, ज्योति दनुवार र एलिसा खडियाले २–२ विकेट लिए । संगीता राईले १ विकेट लिइन् ।
त्यसअघि टस जितेको कोशीले २० ओभरमा ५ विकेट गुमाई १ सय ६ रन बनाएको थियो । कप्तान रुबिनाले ५७ र टीका साहले २१ रन बनाए । मधेशबाट प्रतिमाले २, दीपा बम, सरस्वती कुमारी र भूमि सिंहले १–१ विकेट लिए् । जितसँगै कोशी प्रदेश समूह ‘बी’ को शीर्षस्थानमा उक्लिएको छ ।
