धनगढी — फाप्ला क्रिकेट मैदानमा मंगलबार प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हात पार्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् । पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हरायो ।
३७ रनको लक्ष्य पछ्याएको आर्मीले ६.२ ओभरमा एक विकेट गुमाई भेट्टायो । सम्झना खड्काले ३२ रन बनाइन् । त्यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको कोशीले खराब मौसमका कारण ७ ओभरमा छोट्याइएको खेलमा ५ विकेट गुमाई ३६ रन बनायो । स्मृति कटुवालले १४ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । आर्मीबाट मनीषा चौधरीले ३ र सुस्मिता भुसालले २ विकेट लिए ।
समूह चरणको अन्तिम खेलमा बागमतीले मधेश प्रदेशमाथि ७ विकेटले जित पायो । बागमतीले ६.४ ओभरमा ३ विकेट गुमाएर ४१ रनको लक्ष्य पूरा गर्यो । यशु पाण्डेले १९ रन बनाइन् । मधेशका रोजी कडारीले २ विकेट लिइन् । त्यसअघि टस हारेको मधेशले १५.५ ओभरमा सबै विकेट गुमाएर ४० रन बनाएको थियो । मधेशबाट कसैले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीका कञ्चन श्रेष्ठले ४ र विपिशा शाहीले २ विकेट लिए ।
‘बी’ समूहका तीन टोलीको ४–४ अंक भए पनि नेट रनरेटका आधारमा आर्मी समूह र बागमती उपविजेता हुँदै अगाडि बढेका थिए भने कमजोर रनरेटका कारण कोशी प्रदेश कमजोर बाहिरिएको छ । तीन खेलमा पराजित मधेश प्रदेश अंकविहीन हुँदै बाहिरियो । समूह ‘ए’ बाट भने एपीएफ र घरेलु टोली सुदूरपश्चिम प्रदेश अन्तिम चारमा पुगिसकेका छन् ।
